साहित्य सन्ध्यामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ का विषयमा परिचर्चा र कविगोष्ठी

९ असार २०८२

काठमाडौं, असार ७ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य डा.भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.हेमनाथ पौडेल उपस्थित हुनुहुन्थ्यो ।

‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा अत्यन्त विशद चर्चा गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेलले समकालीन साहित्य लेखनमा प्रतिध्रुवीय धार वा समानान्तर धार र समाजवादी धार क्रियाशील रहेका छन् । पुँजीवादी व्यवस्थालाई समाप्त पारी समतामूलक सिद्धान्तको अवलम्बनसहित कायम गरिने शासन व्यवस्था नै समाजवाद हो । अहिले काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, लोकतान्त्रिक समाजवाद आदि आदि शब्दको प्रयोग भइरहेको पाइन्छ । साहित्य र राजनीतिको सम्बन्ध हुन्छ मात्र होइन साहित्यले समाजवादी यात्राका लागि सघाउने गर्दछ । सन् १९०१ म गोर्कीको ‘आमा’ उपन्यास आएको र १९३४ मा समाजवादी यथार्थवादी उपन्यास भन्ने दृष्टिकोण प्रस्तुत गरियो । समाजवादी यथार्थवादको दार्शनिक पक्ष भनेको मार्क्सवादी दर्शन हो । इसापूर्व ३८५ मै प्लेटोले आफ्नो पुस्तकमा समाजवादको चर्चा गरेका छन् भने बेलायतका थोमस मोरले आदर्श राज्यको र विभेदको अन्त्यको काल्पनिक आदर्शवादी समाजको चर्चा गरेका छन् । रुसोले समाजवादको स्पष्ट उल्लेख गरेका छन् । मार्क्सवादले भने समाजवादका सबै पक्षको चर्चा गरेको हुँदा यो सर्वव्यापी भएको छ । चीनमा माओले पनि समाजवादी साहित्यका बारेमा बृहत् चर्चा गरेका छन् । सन १९३६ मा भारतीय साहित्यकारहरूले सङ्गठित भएर समाजवादी साहित्यका बारेमा चर्चा गरेका छन् । नेपालको सन्दर्भमा वि.सं.२००६ सालमा कम्युनिस्ट पार्टीको गठन भएपछि २००८ सालमा कृष्णचन्द्रसिंह प्रधानले ‘भञ्ज्याङनिरै’ कवितासङ्ग्रहमा आफैँले साहित्य कस्तो हुनुपर्छ भन्नेसम्बन्धमा भूमिका लेखेर समाजवादी यथार्थवादको प्रवेश गराएका छन् । त्यस समयसम्म नेपालमा घटेका मकैपर्वलगायतका विभिन्न घटनाहरूले पृष्ठभूमिको काम गरेका छन्, भन्नुभयो ।

समारोहमा सञ्जय सोती, ओमप्रसाद कोइराला, कृष्णप्रसाद पौडेल, डम्बर पहाडी, खेमराज निरौला, रत्ननिधि रेग्मी, रामप्रसाद प्रसाईँ, कात्यायन, डा.हेमनाथ पौडेल, गायत्रीकुमार चापागाईँ, त्रिलोचन आचार्य, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), भावना न्यौपाने, रत्न उप्रेती, डा.मनोज जोशी, प्रशान्त खरेल, रुक्मिणी भट्ट, डा.गोविन्दप्रसाद आचार्य, रामकुमार पण्डित, कुमार नेपाल, बैरागी जेठा, बलराम विष्ट, लक्ष्मण तिमिल्सिना र सुशीला प्रधानाङ्गले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।

स्रष्टा सुशीला प्रधानाङ्गले वाचित रचनामाथि समीक्षा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: