कविता

कृषि क्रान्ति

१३ असार २०८२
कालिका त्रिपाठी पन्त

ढुङ्गे युगदेखि थियो चलनमा पेशा पशुपालन
हे युवा उठ एकजुट बन अब कृषि तिमी थालन ।

तिम्रो काँधभरि हजारथरिका छन् जिम्मेवारीहरू
तीमध्ये पनि फर्की जाऊ खनिदेऊ बाँझा ती बारीहरू ।

गाई, भैंसी र बाखरी गोठभरी हुर्काउनू स्यार गरी
हालेर कुखुरा र बङ्गुरहरू पाल्नु अनेकन थरी ।

डाले घाँसहरू रोपेर जमिन पार्नू हरियाली हो
माटो सुँघेर बाँच्नु, मर्नु देशमै हाम्रो खुशियाली हो ।

सुधारिएको बिउ बिजनहरू रोपेर फाँटैभरि
कृषि क्रान्ति सुनिश्चित छ नि बुझ युवाको आँटैभरि ।

मातृभूमि नेपालको प्रगतिमा तिम्रै पसिना पोखी
समृद्ध देश पार्नु छ विदेशिने युवाको लर्को रोकी ।

हलो, कुटो, कोदालो, खन्तीसँगमा औजार नौला बोकी
बारी, खेत, पखेरा खोस्री समथर तराई फाँट जोती ।

पखाली देऊ लाज आज हे युवा ! कृषिप्रधान देशको
व्यापारिक दृष्टिले गर खेती जोगाऊ नाम यसको ।

राखेर दूरदृष्टि छर्नू चेतना तालिमले रङ्गिनू
घुम्नु देश विदेश, सिक्नु प्रविधि, फर्किनू यहीँ चम्किनू ।

देशको नीति सुधार गर्नुछ अब जागेर युवाहरू
बनेर शरणार्थी अन्य देशमा नभन्नू ओइली झरुँ ।

खन्नू कुलो, नहर, इनार र कुवा सिँच्नू बालीहरू
झुल्छन् धान, मकै, कतै नगदेका बाली डालीहरू ।

उत्पादनमुखी बन्नुपर्छ अब त आयात रोकी देऊ
निर्यातमा जोड देऊ विश्वभरिका मुद्रा कमाई लेऊ ।

नेपाली नोट बग्दो छ खोलो बनी विदेशतिरै बाढी भै
अर्थतन्त्र तहसनहस बनेको छ बचाऊ दह्रो नाडी भै ।

सरकारलाई सुझाव दिनू मिली सबै युवा नबेच्नू कतै
पेटको अग्नि सेलाउने बन कृषक सम्भावना छ यतै ।

कोशी, गण्डकी, काली छन् जलधरा हिमालले सिर्जेका
उपहार हो यो किसानको कृषि पुर्खाले हुन् आर्जेका ।

हाम्रा बाजे बराजुले भोकमरी टारे कोरियाको रे !
पठाएथे रे टन्न अन्न फलेको यै खेत खोरियाको रे !

आज हामी गुलाम भै विदेशीको त्यै चिज किीन ल्याउँछौँ
खर्ची धनको बिटो पुगी विदेशमा नङ्ग्राहरू ख्याउँछौँ ।

मासु, फलफूल, दूध, अन्न, हरिया तरकारीसम्म पनि
आयात हुन्छ विदेशबाट के भनौ निकृष्ट लाचार बनी ।

‘थाल्नुछ अभियान हिमाल् झरी पहाड, चुरे र तराईमा
कृषि क्रान्तिले देशको मुख फेरौँ नअल्झौँ पराईमा ।’

बनेपा, काभ्रे। 

प्रतिक्रिया दिनुहोस्: