
सकारात्मक सोचका साथ सबैसँग मित्रवत् व्यवहार गर्नेलाई सुख र खुशी खोज्न अन्त जानुपर्दैन ।
डा.शैलेन्दुप्रकाश नेपाल
प्रोफेसरको दैनिकीको यसपालिको अङ्कमा पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारको नेपाली विभागका प्राध्यापक डा.शैलेन्दुप्रकाश नेपालको दैनिकी तयार पारेका छौँ । डा.नेपालको दैनिकी नेसनल युनाइटेड स्कुल, बूढानीलकण्ठ–८, गणेशचोक, काठमाडौंका बहिनीहरू ऐश्वर्या गुरुङ (कक्षा : ९) र कृष्टिना राई (कक्षा : ८) ले तयार पारेका हुन् । कुराकानीका आधारमा बहिनीहरूले तयार पारेको डा.नेपालको दैनिकी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
१. बिहान कति बजे उठ्नुहुन्छ ?
– म हरेक दिन बिहान पाँच बजे उठ्ने गर्छु ।
२. उठेपछि के गर्नुहुन्छ ?
– उठेपछि नित्यकर्मलगायत केही अभ्यासहरू गर्ने गर्छु ।
३. बिहानको खास कार्यतालिका के हुन्छ ?
– नुवाइधुवाइ सकेपछि योगाभ्यास र पूजापाठमा लाग्छु ।
४. बिहान खाजा खानुहुन्छ कि हुन्न ?
– म बिहान खाजा खान्छु ।
५. खाजा खानेभए के खानुहुन्छ ?
– सातु, फलफूल जे उपलब्ध छ, त्यही खान्छु ।
६. खाना कति बजे खानुहुन्छ ?
– बिहान १० बजेदेखि ११ बजेको बीचमा खाने चलन छ ।
७. खाना कस्तो मीठो लाग्छ ?
– नेपाली खाना दालभात, तरकारी, अचार मनपर्छ । पाएको चिज मीठो मानेर खाने गर्छु ।
८. कलेज कतिबेला जानुहुन्छ ?
– बिहानै जान्छु । मैले पढाउने कक्षाहरू बिहानै छन् ।
९. कलेजको दैनिकी कस्तो छ ? के के गर्नुहुन्छ ?
– कलेज गयो, पढायो । समय मिल्दा साथीभाइसँग छलफल गर्यो । बिहानको खाना उतै खाइन्छ । विद्यार्थीहरूका कार्य परीक्षण, कलेजका अन्य काम गरेर समय बित्छ ।
१०. कलेजबाट घर कति बजे फर्किनुहुन्छ ?
– म कलेजबाट सामान्यतः एघार बजेपछि फर्किन्छु । उता काम हुँदा ढिलो पनि हुन्छ ।
११. घर आएपछि के गर्नुहुन्छ ?
– कहिले घरायसी काम गर्छु । प्रायः लेखपढको काम हुन्छ ।
१२. कलेज नगएको दिन के गर्नुहुन्छ ?
– लेखपढमै बित्छ ।
१३. दिउँसो खाजा खानुहुन्छ ?
– खान्छु ।
१४. साँझ कसरी बित्छ ?
– म बिहान पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा धाउँछु । साँझ पशुपति बहुमुखी क्याम्पस, चावहिलमा पढाउने गर्छु । तसर्थ साँझ उतै बित्छ । बेलुका ८ बजे घर आउँछु ।
१५. राति कतिबेला खाना खानुहुन्छ ?
– कलेजबाट फर्किएपछि । सामन्यतः आठदेखि नौ बजेभित्र खाना खाने काम हुन्छ ।
१६. खाना खाएपछि के गर्नुहुन्छ ?
– भोलिको लागि तयारी र अन्य आवश्यक लेखपढकै काम हुन्छ ।
१७. राति कतिबेला सुत्नुहुन्छ ?
– राति दश बजे सुत्ने गर्छु ।
१८. हजुरको र आम मानिसहरूको दैनिकीमा के फरक छ जस्तो लाग्छ ?
– सबैको आफ्नो आफ्नो जीवनशैली हुन्छ । आफ्नो जिम्मेवारी पूरा गर्नु सबैको दायित्व हो । कसैको दैनिकी एकनाश हुँदैन नै । कृषक, व्यापारी, जागिरे, शिक्षक हरेकको दैनिकी फरक हुन्छ । कलेज र विद्यालयका शिक्षककै दैनिकी मिल्दैन । विद्यालयमा दिनभरि बस्नुपर्छ भने कलेजमा आफ्नो कक्षा हुँदा पुग्नुपर्छ । मेरो कलेज पुगेर पढाएपछि दिउँसोतिर पत्रिकाको काम हुन्छ । हिमाली सौगात साहित्यिक पत्रिका सम्पादन/प्रकाशनको काममा पनि व्यस्त हुन्छु । अनि साहित्यिक कार्यक्रमहरू परिरहन्छन्, मिलेसम्म सहभागी हुनेगर्छु ।
१९. सामान्यतः आफ्ना दिनहरूलाई सुखी र खुशी राख्न के गर्नुपर्छ भन्ने लाग्छ ?
– मानिस सदैव सकारात्मक हुनुपर्छ । मिलेको खानेकुरालाई अमृतसमान मान्नुपर्छ । आफ्नो कामप्रति इमानदार र सकारात्मक हुनुपर्छ । सबैसँग मित्रवत् व्यवहार गर्ने र खुला बन्ने प्रयास गर्यो भने खुशी र सुख अन्त खोज्नुपर्दैन । ती आफैसित छन् भनेर सोच्नुपर्छ । अनावश्यक रिस, राग, ईर्ष्या, क्रोध, लोभलालचमा अलमलिनु हुँदैन । सृजनशील वा रचनात्मक बन्नुपर्छ ।
२०. बिहान उठ्दा पहिला के सम्झनुहुन्छ र सुत्ने बेलामा के सम्झँदै सुत्नुुहुन्छ ?
– म उठ्नेबित्तिकै भगवान्लाई सम्झन्छु र नयाँ जीवन पाएकामा खुसी बन्छु । अनि दिनभरि गर्नुपर्ने कार्यहरू सम्झन्छु । सुत्ने बेलामा आज सम्पन्न भएका काम र भोलि गर्नुपर्ने काम वा विषय सम्झन्छु ।
२१. तपाईंले आफ्नो समय तालिका कसरी मिलाउनुहुन्छ र त्यसमध्ये के क्रियाकलापहरू गर्नुहुन्छ ?
– समय र परिस्थिति अनुसार आफ्नो समय तालिका मिलाउने प्रयत्न गर्छु । मेरा सम्पूर्ण गतिविधि भाषा, साहित्यसँग सम्बन्धित हुने गर्छन्, पठनपाठन, लेखन र कार्यक्रमहरूमा सहभागिता ।
२२. फुर्सद मिलेका समयमा तपाईं कस्ता कामहरू गर्नुहुन्छ ?
– नयाँ नयाँ ठाउँहरू घुम्न मन लाग्छ ।
२३. कविता लेख्ने सोच तपाईंलाई कहाँबाट आयो र कति समय कविता लेखनलाई मिलाउनुहुन्छ ?
– मेरो पिताजी पूर्णप्रकाश नेपाल यात्री साहित्यकार हुनुहुन्थ्यो । सानैदेखि घरको वातावरण साहित्यिक थियो । त्यसैबाट प्रेरणा मिल्यो । म पन्ध्र वर्षको उमेरमा पोखरा पुगेँ । नौ र दश कक्षा त्यहीँ बसेर पढेँ । त्यहाँको सुन्दर प्रकृति र वातावरणले मलाई कविताप्रति आकर्षण बढायो । कुनै भावना प्रस्फुटन हुनासाथ समय मिलाएर लेख्नेगर्छु ।
प्रतिक्रिया दिनुहोस्: