असार १५ र यसको महत्त्व

१५ असार २०८२

असार १५ नेपाली समाजमा रोपाइँ सकेको खुशीयालीमा दही–चिउरा खाएर मनाउने सांस्कृतिक परम्परा हो । यस दिनलाई धान दिवसको रूपमासमेत मनाउँदै आएको पाइन्छ । हाम्रो समाजमा परापूर्वकालदेखि नै असार १५ मा दही–चिउरा खाने चलन रहँदै आएको पाइन्छ । दही चिउरा खाँदै रोपाइँ गर्नाले पुण्य मिल्ने विश्वासका कारण यस दिन रोपाइँ गर्ने र हिलो छ्यापेर रमाइलो गर्दै दही–चिउरा खाने गर्दछन् । असारे गीत गाउँदै रोपाइँ गर्नु असारको अर्को रमाइलो पक्ष हो । नेपालमा असारको पहिलो सातादेखि मनसुन सुरू हुने र असार १५ सम्म खेतमा पानी प्रशस्त हुने कारणले पनि यतिबेला सबै मानिसहरू रोपाइँमा व्यस्त हुन्छन् । असारको सुरुमा लाठेहरूले खेत खन्ने र आली लगाउने गरिसक्छन् भने त्यसपछिका दिनमा रोपाइँको चटारो पर्नजान्छ । ब्याडेहरू बिउ काढ्ने, लाठेहरू बाउसे गर्ने र रोपारहरू बाउसेले सम्म्याएको खेतमा बिउ हातमा लिएर पङ्तीबद्ध भएर रोपेको रमाइलो दृश्य देख्दा हाम्रो संस्कृति र परम्परा साँच्चै धनी, रमाइलो र आकर्षक छ भन्ने लाग्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न बाली धान भएको र धानको उत्पादनमा आउने घटबढले हाम्रो अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले पनि धान रोपाइँको परम्पराको महत्व रहँदै आएको हो भन्न सकिन्छ ।

पहामी भूभाग नेपालमा सिँचाइको सुविधा कम भएकोले हामी हाम्रा खेतीपातीको लागि मनसुन मै भर पर्नुपर्ने हुन्छ । ‘मानो रोपेर मुरी फलाउने’ असारको यो समयमा कृषकहरू असारे भेल छोप्दै धानबाली लगाउनमै व्यस्त रहन्छन् । असारको एकमहिना काम गरेर वर्षभर खाने बाली लगाउने हाम्रो परम्पराले पनि नेपाली किसानहरूलाई असारको १५ मा कामको चटारो भएको हुनसक्छ । त्यसकारण पनि कृषकका लागि असारको पन्ध्रको महत्व र चटारो भएको हो । असारलाई बुझेर नै बूढापाकाको भनाइ छ, ‘लासलाई छोपेर भए पनि असारे भेल छोप्नुपर्छ ।’ मध्य असारमा रोपाइँ गर्न सकिएन भने हाम्रो पहाडी र अझ खास गरी हिमाली भूभागमा चिसो बढ्दै जानेहुनाले धानबाली छिटै नपाक्ने, पाके पनि पोटिला नहुने, भुस फल्ने हुनाले पनि खतीपातीको लागि खासगरी धान रोपाइँको लागि असार १५ लाई बढी महत्त्व दिएको हो भन्न सकिन्छ ।

असार र रोपाइँले हाम्रो समाजको एकता र भाइचाराको सम्बन्धलाई युगौँदेखि कसिलो र फराकिलो पार्दै ल्याएको प्रष्टै देखिछ । भारोपर्म, मेलापात, रोपाइँ, दाइँले समाजलाई संगठित र एकत्रित बनाउँदै यहाँसम्म ल्याएको पनि देखिन्छ । रोपाइँमा गीत, नाच, बाजा, लाखे आदिले हाम्रा सांस्कृतिक परम्पराको पनि झझल्को दिने गर्दछन् । खेतालाहरूको चिया, खाजा, ज्याला, मल, बिउ आदिको लागि गरिने खर्चले यति बेला आर्थिक गतिविधि पनि बढ्नजाने र चलायमान हुने देखिन्छ । यसरी असार १५ र धान रोपाइँले हाम्रो समाजको आर्थिक, सामाजिक र सांस्कृतिक विविध पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । नेपालको धान खेती विश्वको सबैभन्दा होचो (समुद्री सतहबाट झापाको केचना ७० मिटर उचाइ) भूभाग देखि सबैभन्दा अग्लो (जुम्लाको छुमीचौर समुद्री सतहबाट दुई हजार ७८० मिटर उचाई) भूभागसम्म हुने गर्छ ।

असार १५ मा खाइने दही–चिउराको महत्त्व पहिलो त प्रचलन र परम्परा हो । अब यो सांस्कृतिक चाड बनिसकेको पनि छ । दोस्रो खेतीपाती लगाउने, सकाउने खुशीयाली पनि हो । तेस्रो दही–चिउरा किन खाइन्छ त ? भन्दा खेतीपातीको काम बढी गर्नुपर्ने, रुझिने–भिजिने चिसो आदिले शरीर कमजोर हुने हुँदा शारीरिक बल र शक्तिको लागि पनि यतिबेला यस्ता तागतिला र कार्बोहाइड्रेडयुक्त पोसिला खाने कुराहरू खाएको हो, भन्ने गरिन्छ । पहिला पहिला दही र चिउरा, तरकारी, अचार, केरा घरमै हुन्थ्ये, घरमै पाक्थे । तर अहिले सबै कुरा किनेर खानुपर्छ । उता कृषिमा आत्मनिर्भर हामीमा आफ्नोपन हराउँदै गएर परनिर्भरतामा बाँच्नु परेको छ । यतिबला असार १५ को महत्व कम हुँदै गएको छ । हाम्रो संस्कृति र परम्परामा खल्लोपना क्रमशः बढेको छ । बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्: