
काठमाडौं, असार १४ गते शनिबार । ‘अविरल जनसाहित्य यात्रा’को १०० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी काभ्रेकी सशक्त प्रगतिवादी स्रष्टा भवानी पाण्डेका एक दर्जन कविता सुनिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज हेमराज राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव आर.सी.न्यौपाने, निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
दुुई चरणमा सम्पन्न गरिएको विशेष समारोहको पहिलो चरणमा जननेता मदन भण्डारीको चौहत्तरौँ जन्मजयन्तीका अवसरमा भण्डारीको तस्बिरमा प्रमुख अतिथिले माल्यार्पण गर्नुभएको थियो भने विशेष अतिथि तथा अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो । नेपाली कम्युनिस्ट राजनीतिमा नेपाली माटो र हावापानी सुहाउँदो ‘जनताको बहुदलीय जनवाद’ विचारको प्रतिपादन गर्ने विचारक मदन भण्डारीको बारेमा चर्चा गर्नुहुँदै डा.गोविन्दप्रसाद आचार्यले नेपाली वामपन्थी आन्दोलनको मूल धार नै वर्तमानमा ‘जनताको बहुदलीय जनवाद’ भएको र यसलाई बाहिर कोही कसैले नमाने पनि उनीहरूसमेत भित्र भित्र त्यही विचार अनुसरण गर्न बाध्य भएको कुरा बताउनुभयो ।
दोस्रो चरणको कार्यक्रममा अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो । अध्यक्ष सत्यालले हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो । सङ्घको काव्य विभाग सदस्य त्रिलोचन आचार्यले कविनायकको परिचय दिनुभएको थियो ।
कविनायक भवानी पाण्डेले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै ‘घुँडा टेक्ने छैन’ ‘बालअधिकार’, ‘यो युगको महाजन’, ‘खुसी मन (बालकविता’, ‘पर्खाइ’ र ‘विवश वर’ शीर्षकका छओटा गद्यकविता, बालकविता र झ्याउरे लयमा सिर्जना गरिएका सुन्दर वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डा.हरिप्रसाद सिलवालले ‘प्रण’, अनामिका सजलले ‘तिम्रो प्राणपखेरु’, नवराज उत्साहीले ‘बन्द छ विज्ञापन’, सरस्वती चिमौरियाले ‘धुरीबलो’, गीता सापकोटाले ‘अनुत्तरित प्रश्न’ र दिनेश खरेलले ‘मौन समय’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
वाचित कवितामाथि डा.लेखराज खतिवडाले टिप्पणी गर्नुहुँदै अहिलेको समयकी प्रखर, प्रगतिवादी स्रष्टा भवानी पाण्डेका कविता सिर्जनायात्रा सरल छ, समयसापेक्ष छ । यहाँ पाण्डेले समाजमा पीडकहरू खुसी छन्, छाती फुलाएर हिँडिरहेका छन् तर पीडित दुःखी र प्रताडित छन् भन्ने यथार्थलाई कवितामा उतारेकी छिन् । सचेत र बौद्धिक कवि भएका नाताले नेपाली समाजको जीवन्त चित्रण गर्दै सुधार तथा रूपान्तरणको अपेक्षा सबै कवितामा गरिएको छ, भन्नुभयो ।
समारोहका प्रमुख अतिथि तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज हेमराज राईले मदन भण्डारी एमालेका नेता मात्र होइन कम्युनिस्ट आन्दोलनकै नेता हुनुभएको, आगामी दिनमा पनि उहाँ वैचारिक नेताकै रूपमा स्थापित भइरहनुहुने मलाई विश्वास छ, भन्नुहुँदै आजको यो विशेष समारोहमा कवि भवानी पाण्डेका कविता श्रवण गर्ने अवर मिल्यो, समीक्षकको टिप्पणी पनि सुनियो त्यसैले आजको यो विशेष समारोह सार्थक र प्रभावकारी भएको मलाई महसुस भएको छ, भन्नुभयो ।
सङ्घका उपाध्यक्ष रमेश पोखरेलले समारोहमा उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक सबैलाई धन्यवाद दिँदै अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: