
२०८२ असार १५, काठमाडौं। राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन साहित्यिक पत्रकार सङ्घले एक विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ।
साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति सांसद राजेन्द्र लिङ्देन रहेका थिए।
कालिमाटीस्थित डिभाइन बैङ्केटमा भएको सो कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा कृषक गुठियारहरूद्वारा दही चिउरा, फलफूललगायत सगुनसमेत दिएर प्रमुख आमन्त्रित व्यक्तित्व तथा अन्य आमन्त्रित व्यक्तिहरूलाई आतिथ्य सत्कार गरिएको थियो। यसअघि रातो टीका र फूलमाला लगाइएको थियोे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख व्यक्तित्व सांसद लिङ्देलले देशको ६० प्रतिशतभन्दा बढी जनता कृषिमै आश्रित भए पनि आफूलाई चाहिने खाद्यान्न उत्पादन गर्न नसकेको र बाहिरबाट मगाउनु परेको अवस्था रहेको बताए।हरेक वर्ष कृषकले बाली लगाउने बेला मल किन्न नपाएको यथार्थ औंल्याउँदै कृषिमा आधुनिकीकरण हुन नसकेको र त्यसतर्फ सरकारको ध्यान नगएको हुँदा राष्ट्रिय धान दिवसका अवसरमा कृषकहरूका समस्या उपर सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।
हाम्रो देश कृषिप्रधान देश भएको प्रसङ्गमा लेकालीले पहिले हाम्रो देशले कोरियामा समेत खाद्यान्न निर्यात गर्ने गरेकोमा हाल आयात गर्नुपर्ने स्थितिमा पुगेको दु:खेसो व्यक्त गरेका थिए। लेकालीले असार १५ गते शीर्षकको एउटा कविता पनि वाचन गरेका थिए।
कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश रिमालले स्वागत मन्तव्य राखेका थिए भने अर्का समाजसेवी तथा कृषक नवीन शाहीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन गीतकार तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रमपछि सहभागीहरूलाई दही चिउरा, तरकारी, फलफूल आदि विभिन्न परिकार खुवाइएको थियोे। खानपिन चलिरहँदा सभाकक्षमा साङ्गीतिक कार्यक्रम पनि भइरहेको थियोे।
भीषण वर्षाको समयमा चलेको सो कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा डा. सुरेन्द्र के. सी., कङ्ग न्याम्हचाकी अध्यक्ष रविना शाही, नृत्यकलाकार राज्यलक्ष्मी स्थापित, साहित्यकारहरु पद्यमावती सिंह, प्रमोद प्रधान, सावित्री श्रेष्ठ, सुभाषचन्द्र पौडेल, रितु कँडेल, ठाकुर बेलवासे, जयदेव भट्टराई, वीणा सिंह, राजन न्यौपाने, प्रविन थपलिया, तुलसा पाठक, यशोदा अधिकारी, कृष्ण भण्डारीलगायत तीनसय बढी खचाखच भरिएको सभाहलमा स्थानीय बासिन्दा, कृषक तथा समाजसेवी एवम् साहित्यकारहरूको पनि उपस्थिति रहेको थियोे।
प्रतिक्रिया दिनुहोस्: