
काठमाडौँ, असार २१ । सुरभि साहित्य प्रतिष्ठानको १७४ औँ शृङ्खलामा सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कार अर्पण र विशेष कवितावाचन भएको थियो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको यो कार्यक्रममा गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ र प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा कविता वाचन, पुरस्कार अर्पण र साहित्यकार बाजुराम पौडेलको खण्डकाव्य ‘सुनटिकी’ लोकार्पण भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रिसालले यस गोकर्णेश्वर नगरपालिका क्षेत्रलाई साहित्यिक नगर बनाउन सुरभि साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले धेरै ठूलो भूमिका खेलेको कुरा बताउनुभयो । यसका लागि नगरपालिकाले पनि अन्तरविद्यालय साहित्यिक प्रतियोगिता गराई भावी साहित्यिक प्रतिभा तयार पार्न पहल गर्ने कुरा बताउनुभयो ।
विशिष्ट अतिथि नन्दलाल श्रेष्ठले साहित्यलाई सबैले माथि उठाउनुपर्छ । यस्ता कर्ममा लाग्नुभएका सबैलाई बधाई तथा शुभकामना दिँदै यस नगरपालिका र वडा कार्यालयले प्रतिष्ठानलाई सकेसम्म सहयोग गर्ने वचन पनि दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले असार महिना भानुभक्तको जन्म महिना परेको हुँदा प्रतिष्ठानले गरेको विशेष कविता वाचन र छन्द कवितामा पुरस्कार अर्पण गर्नु मनासिव रहेको बताउँदै भानुभक्तको बारेमा पनि बोल्नुभयो ।
पुरस्कार संस्थापक पुष्कर चालिसेले आफ्नो वैवाहिक वर्षगाँठमा खर्च गर्नुको साटो यसरी छन्दकविता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नु राम्रो हुने घरपरिवारको सल्लाह भएकाले यो पुरस्कारका लागि अक्षयकोष राखिएको कुरा बताउनुभयो ।
प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको विशेष कविता वाचनमा घनश्याम प्रसाईं, रञ्जु खनाल, शारदा पराजुली, बाजुराम पौडेल, वासुदेव पौडेल, परशुराम पराशर, दिवाकर न्यौपानेले कविता तथा गजल वाचन गर्नुभएको थियो । त्यस्तै मधुसूदनप्रसाद घिमिरे, ऋचा, सुशील आचार्य, आलोक चालिसे (विजय चालिसेको पछिल्लो लघुकथा), शारदा पराजुली, दिवाकर न्यौपाने, रञ्जु खनालले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: