
भक्तपुर। नेपाली भाषा र साहित्यको उन्नयनमा क्रियाशील साहित्यिक संस्था ‘नेपाल साहित्य मन्दिर’ भक्तपुरले विगत १५ वर्षदेखि विभिन्न साहित्यिक गतिविधि, पुरस्कार र सम्मान समर्पण गर्दै आइरहेकाे छ ।
यसैअनुरूप संस्थाले यस वर्षको “जरिमैयाँ साख: लुमन्ति सिरपा (स्मृति पुरस्कार)”नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् वरिष्ठ साहित्यकार सुलाेचना मानन्धर र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई ‘कुमार साख: हपा: सिरपा’ पुरस्कार भक्तपुरस्थित सिद्धपाेखरी पार्टी प्यालेस दुधपाटीमा एक समारोह बिच समर्पण गरिएको छ ।
प्रमुख अतिथि नेपाल साहित्य मन्दिरका संस्थापक एवम् वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थले उक्त पुरस्कार समर्पण गर्दै जरिमैयाँ साख: स्मृति पुरस्कार र कुमार साख: प्राेत्साहन पुरस्कारकाे स्थापना र ओैचित्यमाथि प्रकाश पार्नुभएको थियो। उहाँले नेपालभाषाको साहित्य सिर्जनाका साथै नयाँनयाँ साहित्यकारहरू जन्माउन यस पुरस्कारले विशेष योगदान दिएको बताउनुभएको थियोे।
सभाध्यक्ष, नेपाल साहित्य मन्दिरका अध्यक्ष, नेपाल प्रज्ञा- प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलाेक्यमान बनेपाली ‘अगिव’ले नेपाल भाषा र साहित्यको विकासमा संस्थाले पुर्याएको योगदान भविष्यका लागि पनि मार्गदर्शन हुने बताउनुभयो । उहाँले आफू संस्थागत र व्यक्तिगत रूपमा नेपालभाषा र साहित्यको विकासमा निरन्तर लागिरहने बताउँदै मातृभाषा प्रत्येक समुदायको पुँजी र राष्ट्रको सम्पदा भएको हुँदा सबै जना एक जुटभएर लाग्नुपर्ने बताउनुभएको थियोे ।
स्वास्थ्यसेवी कुमार साखः धनले हाेइन मनले ठुला भएकाले याे पुरस्कारकाे गरिमा बढेकाे चर्चा गर्दै उहाँले साखः परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियोे ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू सुलाेचना मानन्धर र विजयरत्न असंवरे, अतिथि द्वय नेपालभाषा एकेडेमीका सचिव महेन्द्रगाेपाल कर्माचार्य र समाजसेवी कृष्णलाल प्रधानले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा कविहरू प्रतिसरा सायमी, सुलाेचना सैँजु, हिसिलिना शाक्य, रेजिना नक:मि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन र मिमिला शर्माले कविता तथा गीत वाचन गर्नुभएकाे थियाे ।
नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजाेपाध्यायले प्रस्तुतीकरण, संस्थाका सदस्य रामनारायण प्रजापतिले स्वागत तथा सदस्य उत्तमनारायण मल्लले कृतज्ञता ज्ञापन गर्नुभएको थियोे।
प्रतिक्रिया दिनुहोस्: