सन्ध्यामा ‘बालसाहित्यमा प्रविधिको प्रयोग विषयामा परिचर्चा’

२२ श्रावण २०८२

काठमाडौं, साउन ३ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४६५ औँ शृङ्खलामा ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशिष्ट अतिथिका रूपमा प्रा.डा.ध्रुवकुमार घिमिरे र कार्तिकेय घिमिरे उपस्थित हुनुहुन्थ्यो ।

‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा चर्चा गर्नुहुँदै विशिष्ट अतिथि कार्तिकेय घिमिरेले वर्तमानमा पर्याप्त बालसाहित्य लेखिएको पाइन्छ र लेखिएका साहित्यलाई रेकर्डिङ गर्ने, चित्रका माध्यमबाट अभिव्यक्त गर्ने, छायाङ्कन गर्नेलगायतका प्रविधिको प्रयोग गर्नथालिएको पाइन्छ । नेपाली बसोवास गर्ने विदेशी भूमिसम्म पनि बालसाहित्यलाई पुर्याउने र भाषा बचाउने प्रयासका रूपमा पनि प्रविधिको प्रयोग गर्नसकिन्छ र आवश्यक छ । क्यानडाले १६ वर्षसम्मका बालबालिकाका लागि चाइल्ड एप बनाएर त्यसमा जोड्ने र बालोपयोगी सामग्री दिने कार्य गरेको छ भने चीनले बालमैत्री सामाजिक सञ्जालकै विकास गरेको छ । सामाजिक सञ्जालका नराम्रा पक्षबाट बालबालिकालाई कसरी बचाउने ? राम्रा कुराको ग्रहण कसरी गर्ने भन्ने विषयमा हामी कहाँ अलि बढी नै चुनौती पनि देखिएका छन् । बच्चाको उमेरसमूहअनुसारका बालबालिकालाई लाभ पुग्ने सामग्रीभन्दा बाहेकका नकारात्मकता सिर्जना गर्ने सामग्रीलाई बन्देज गरी प्रविधिको पहुँच पुर्याउनु आजको आवश्यकता, भन्नुभयो ।

समारोहमा ओमप्रसाद कोइराला, प्रवीण जोशी, गोपाल नेपाल, बैरागी जेठा, डा.मनोज जोशी, शनि नेपाल, खेमराज निरौला, कुमार नेपाल, तिलप्रसाद न्यौपाने, महेशराज खरेल, बलराम विष्ट, कृतिका श्रेष्ठ, डा.राजेन्द्रप्रसाद अधिकारी, पोष चापागाईँ, नर्मदेश्वरी सत्याल, नवराज श्रेष्ठ, देबु लुइटेल, डा.फणीन्द्रराज निरौला, दीनेशराज खरेल, कार्तिकेय घिमिरे, गङ्गा कर्माचार्य पौडेल, चिन्तामणि सिवाकोटी, यदुनाथ वसन्तपुरे, डा.गोविन्दप्रसाद आचार्य, प्रशान्त खरेल, गोपालकुमार मैनाली, देवीप्रसाद घिमिरे, अर्जुन अन्योल र जयन्ती स्पन्दनले आआप्‌mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि प्रा.डा.ध्रुवकुमार घिमिरेले ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा थप प्रकाश पार्नुहुँदै भोलिका हाम्रा साहित्यका पाठक भनेकै आजका बालबालिका हुन् । प्रकृतिकै गहिरो अध्ययन, अनुसन्धान गरिरहेको शास्त्र विज्ञान हो भने तिनै समग्र अनुसन्धानलाई आआफ्ना तरिकाले प्रयोग गरिने विधि चाहिँ प्रविधि हो, भन्नुभयो ।

वाचित रचनामाथि पनि समीक्षा गर्नुहुँदै विशिष्ट अतिथि प्रा.डा.ध्रुवकुमार घिमिरेले आजको यो विशेष समारोहमा बालकविता, प्रौढकविता, लघुकथा, साइनो कविता हामीले सुन्यौँ । कवितामा बन्दी जीवन र स्वतन्त्र जीवनको तुलना गर्दै स्वतन्त्रताका पक्षमा वकालत गरिएको छ । कवितामा राष्ट्रियताका भाव आएका, समसामयिक विद्रोही स्वर पनि मुखरित भएको पाइएको छ । प्रतीकात्मक शैलीमा हाम्रो गौरवशाली संस्कृतिका बारेमा प्रकाश पारिएको छ । स्वदेशप्रेमको भाव उजागर गर्ने र प्रजातन्त्रको लामो सङ्घर्ष अनि जनअपेक्षा पूरा नभएका पक्ष पनि कवितामा आएका छन्, भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: