सिटौलाको ‘ईश्वरका फूलहरू’ कवितासंग्रहको लोकार्पण

२२ श्रावण २०८२

काठमाडौं, साउन १६ गते शुक्रबार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम अनामनगरमा सम्पन्न भयो। कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ‘ईश्वरका फूलहरू’ नेपाली कविताको गाम्भीर्यमा एउटा ताजा भाव र संवेदनाको स्पर्श भएको बताए। उनले भने, “सिटौलाको कविताले विचार र अनुभूतिलाई गहिरो ढंगले उधिनेको छ, जसले नेपाली कविता साहित्यलाई अझ समृद्ध बनाउनेछ।”

विशिष्ठ अतिथिका रूपमा उपस्थित प्राध्यापक डा. खगेन्द्र लुइँटेलले संग्रहमा प्रयोग भएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने बताए। अर्का विशिष्ठ अतिथि प्रा. डा. कृष्णहरि बरालले सिटौलाको कवितामा भाषा र भावको सशक्त संयोजन रहेको उल्लेख गर्दै भने, “सिटौलाका कविता अन्तरात्माको स्पर्श हुन्, जसले पाठकमा गहिरो प्रभाव छोड्छ।” साहित्यकार खेमनाथ दाहालले पनि कृतिको बारेमा आफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकार र अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले संग्रहको समीक्षात्मक टिप्पणी गर्दै यस कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको उल्लेख गरे।

साहित्यकार, प्रतीक ढकाल, लीला लुइटेल, सुमन वर्षालगायतले शुभकामना मन्तव्यसहित राजु सिटौलाको व्यक्तित्व तथा कृतिको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न कविहरूले कृतिभित्रका कविता वाचन गरेर सुनाएका थिए।  कार्यक्रमको  नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले सञ्चालन गरेकी थिइन्।
लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यमार्फत नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला अनिलले स्वागत गरेकी थिइन् भने च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति राजेन्द्र केसीले पुस्तक र कवि राजु सिटौलाको व्यक्तित्व र कृतित्व बारेमा बोल्दै लाोकार्पण कार्यक्रमलाई विसर्जन गरेका थिए ।

नुवाकोटमा जन्मिएका राजु सिटौला हाल अमेरिकामा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र अनेसासको अभियानमा क्रियाशील छन्। कवि सिटौलाले पुस्तकमा रहेका कविताका रचना बारेमा बोल्दै आफू विज्ञानको विद्ध्यार्थी भएपनि सानैदेखि कविता पढ्दै र लेख्दै आएको बताए।

गहिरो शीर्षक रहेको सिटौलाको ‘ईश्वरका फूलहरू’ मार्फत नेपाली कवितामा नयाँ स्वाद र शैली थपेको कुरा कार्यक्रमका अतिथि डा. सत्यराज थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्: