पीईएफद्वारा गार्गीको अभिनन्दन !

१ भाद्र २०८२

काठमाडौं, साउन २९ गते विहीबार । प्रगतिशील शैक्षिक मन्च (पीईएफ), चावहिलले विद्वत्रत्न प्रा.डा. गार्गी शर्मालाई भव्य समारोहकोबीच अभिनन्दन गरेको छ । काठमाडौंको चावहिल क्षेत्रका १० वटा निजी विद्यालयहरूको संस्था पीईएफले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वमा स्रष्टा सम्मान अन्तर्गत विद्वत्रत्न डा.शर्मालाई रु.१५ हजार नगद राशिसहित अभिनन्दन गरेको हो ।

पीईएफकी अध्यक्ष साहित्यकार सीता भट्टराईको सभापतित्व र निजी विद्यालयहरूको संगठन काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्टको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सदस्य विद्यालयका प्रिन्सिपलहरू र शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारीहरू, अभिभावक र विद्यार्थीहरूको साथै पत्रकार तथा समाजका विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा पीईएफका सदस्य विद्यालयहरूकाबीच नृत्य र गायन प्रतियोगिता राखिएको थियो । नृत्यप्रतियोगितामा दुर्गा भवानी एकेडेमी प्रथम हुँदा मोक्षदा स्कुलले द्वितीय स्थान हासिल गरेको थियो । त्यसैगरी अनमोल ज्योति से.ई.बो. स्कुल तृतीय भयो भने मिसन पब्लिक स्कुलले सान्त्वनामा चित्त बुझाएको थियो । कार्यक्रममा महान सिद्धार्थ हाई स्कुलले बेष्ट कोरियोग्राफीको उपाधि पनि हात पारेको थियो ।

त्यसैगरी गायनतर्फ महान सिद्धार्थ हाई स्कुल प्रथम भयो भने लुम्बिनी एकेडेमीले द्वितीय स्थान हात पार्‍यो ।  अनमोल ज्योति से.ई.बो.स्कुल तृतीय हुँदा रुद्रमति पाठशाला चौथा भएको थियो । नृत्यमा मिसन पब्लिक स्कुलले भने बेष्ट टिचर अवार्ड पाएको थियो । दुवै प्रतियोगिताका विजयी भाइबहिनीहरूलाई अतिथिहरूबाता शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा सूर्या कार्की र सङ्गीता खड्गी नृत्यतर्फको निर्णायको भूमिकामा रहनुभएको थियो भने गायक वसन्त सापकोटा र दामोदर अधिकारीले गायनतर्फको निर्णय गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विद्वत्‌रत्न प्रा.डा.गार्गी शर्मा, सभाध्यक्ष सीता भट्टराई र विशिष्ट अतिथि प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: