पारामाउण्टमा तीज विशेष कार्यक्रम

१ भाद्र २०८२

काठमाडौं, साउन ३० गते शुक्रबार । पारामाउण्ट एकेडेमी/पीए कलेज, टोखा–८, बानियाँटारले २०८२ सालको तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संविधान सभा सदस्य माननीय जगदीश्वर नरसिंह के.सी.ले गर्नुभएको थियो । नेपाली काँग्रेसका नेता माननीय अर्जुननरसिंह के.सी.को प्रमुख आतिथ्य रहेको कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू, सहित्यकार, पत्रकारहरू, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । पृन्सिपल मुकुन्दप्रसाद पाण्डेले उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि माननीय अर्जुननरसिंह के.सी.ले निजी वा सामुदायिक जुनसुकै विद्यालय स्थापनाको उद्देश्य उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा हो, त्यसमानेमा पारामाउण्ट एकेडेमी हेरक क्षेत्रमा यस भेगकै अब्बल छ, यो हामी सबैको खुसीको कुरा हो भन्नुहुँदै लोकतन्त्रमा व्यक्तिको सुरक्षा, स्वतन्त्रता, सम्पत्तिको सुरक्षा र मानवीय अस्तित्वको संरक्षण हुनु जरुरी छ, यो नै लोकतन्त्रको आदर्श हो, भन्नुभयो । ‘लोकतन्त्रमा व्यक्तिको स्वतन्त्रतालाई कहीँ कसैले हरण गर्नसक्दैन’ के.सी.ले भन्नुभयो, ‘व्यक्तिले आफ्नो ढङ्गबाट विभिन्न गतिविधिहरू सञ्चालन गर्न पाउने गति वा दृष्टिको अनुसार निजी क्षेत्रले पनि त्यो अवसर र मौका पाउनुपर्छ भन्ने हामी लोकतन्त्रबादीहरूमा कुनै शङ्का नरहेको’ बताउनुभयो । उहाँले निजी क्षेत्रले शैक्षिक र स्वास्थ्यको क्षेत्रमा लगानी गर्दा त्यो नाफामूलक मात्रै नहोस्, त्यो सेवामुखी पनि होस्, त्यसले आमजनताको सेवातिर पनि त्यत्तिकै ध्यानजानु आवश्यक छ, किनभने हामी कल्याणकारी र समतामूलक राज्यका पक्षधर भएकाले निजी क्षेत्रको लगानीको सुरक्षाको साथै त्यसको नियमन र नियन्त्रण गर्दा त्यसले समाजलाई दिएको योगदानमा पनि विचार पुर्‍याउनु जरुरी छ, भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष जगदीश्वररसिंक के.सी. र विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले पारामाउण्ट यस भेगकै उत्कृष्ट विद्यालय भएकोले आफ्ना बाबुनानीहरूलाई यस विद्यालयमा भर्ना गर्न कुनै शङ्का मान्नु नपर्ने बताउँदै विद्यालयको नतिजा र गतिविधिहरूले त्यस कुराको पुष्टि गर्दै आएको बताउनुभएको थियो ।

तीज विशेष यस कार्यक्रममा महिला अभिभावकहरूकोबीचमा छुट्टै नृत्य प्रतियोगिता पनि राखिएको थियो । प्रतियोगिताको पहिलो चरणको दुई समूह (१७ जना) बाट ७ जना फाइनल चरणमा प्रवेश गर्नुभएको थियो । फइनल चरणको प्रतिस्पर्धाबाट प्रज्ञा बिष्ट – प्रथम, शिला कार्की – द्वितीय र गङ्गा आचार्य – तृतीय हुन सफल हुनुभएको थियो । विजेता प्रतियोगीहरूलाई सभाध्यक्ष जगदीश्वररसिंक के.सी. र विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायत अतिथिहरूले खादा, माला, क्राउन र ट्रफी प्रदान गर्नुभएको थियो । नृत्य प्रतियोगिताको निर्णय अनामिका कार्की र सविना फुयालले गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यालयको अध्ययन, अध्यापनको साथै विविध गतिविधिहरूमा उत्कृष्ट सेवा पुर्‍याएबापत शिक्षिका सविना फुयाललाई नगद पुरस्कारसहित सम्मान पनि गरिएको थियो ।

विविध नृत्य तथा सङ्गीतहरू पनि प्रस्तुत गरिएको कार्यक्रममा कक्षा ११ का नयाँ विद्द्यार्थीको स्वागत र १२ कक्षा उत्तीर्ण भएर जानेहरूको लागि बिदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: