लेकै बस्ने डाँफेचरी बेसी बस्ने कालिज ।
बाबा आमा बस्दै होलान् मलाई सम्झेर ॥१॥
खोला पारी दियौ बाबा सारै कड़ा घरमा।
जे गरे नि जस छैन पर्यो मरम ॥२॥
रुन्छ मन पेट पोल्छ बलिराको आगोझैँ ।
जिउ सुकेर गयो बाबा भयो धागोझैँ ॥३॥
कल्ले गर्छ माया दया कल्ले भन्छ हाई वर !
आँशु पिई बस्छु बाबा रुँदै धरधर ॥४॥
रुँदारुँदै आँशु सुक्यो आँखा भयो धमिलो ।
मनभरि वेदना छ मुटु धड्कियो ॥५॥
तीज आयो भन्दछन् सबै जान्छन् माइत ।
मैचेली दुखीलाई छैन साइत ॥६॥
के छ छोरी भनेर न सोध्नु बाबाले ।
सधै मलाई सताउँछ भित्री तापले ॥७॥
सम्झी बसे बाबा आमा म खेलेको आँगनी ।
दाजुभाइ दिदीबहिनी सम्झे होलान् नि ॥८॥
डाँडापारि मै चेली नसम्झनु है आमा ।
बिदा मिले आउँला आमा अर्को तीजमा ॥९॥
दिदीबहिनी दाजुभाइ आमा र बाबालाई ।
मेरो खबर लग्दे काग तीज् मा बरिलाई ॥१०॥
रातमा मलाई निन्द्रा छैन माइतीका यादले ।
मेरो खबर छिटो लग्दे काली कागले ॥११॥
गोङ्गबुँ गणेशस्ठान, काठमाडौ।
प्रतिक्रिया दिनुहोस्: