
काठमाडौं, ६ भदौ, शुक्रबार । मनमैजु सांस्कृतिक समाज (मसांस) ले पहिलो तीज गीत प्रतियोगिता – २०८२ आयोजना गरेको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित त्रिवेणी बैंक्वेटमा सम्पन्न भएको प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका १२ टिमको सहभागिता रहेको थियो। जसमा जीतपुर मा.वि., ग्रामसेवा मा.वि., मनमैजु मा.वि. मानसिंह धर्म मा.वि., मनमैजु महिला विद्यालय, शुभकामना इङ्गलिस बोर्डिङ स्कुल, पद्यचक्र स्कुल, तेजस्वी एकेडेमी रहेका थिए । त्यसैगरी मौलिक कला सांस्कृतिक केन्द्र, जय इन्द्रायणी साकोस र बसन्त नगर महिला समूह पनि प्रतियोगितामा सहभागी थिए ।
मसांसका अध्यक्ष ध्रुवराज खड्काको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ गायिका तथा संगितकार चन्द्रकला शाहको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा टोखा नगर प्रमुख प्रकाश अधिकारी विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साहित्यकार भवानी मैयाँ पन्तले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा रश्मि केसीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रकला मल्ल शाहले पहिले र अहिलेमा तीज गीतमा निकै फरक आएको बताउँदै चेली र माइतीबीचको आपसी सम्बन्धको तीजमा आफ्नो परम्परा भुल्ने र गीतहरूलाई विकृत बनाउन नहुने बताउनु भयो।
विशेष अतिथि टोखा नगर प्रमुख प्रकाश अधिकारीले हाम्रो संस्कृति, परम्परा, आपसी प्रेम र सम्बन्धलाई प्रगाढ बनाउँदै आएको तीजलाई सुसभ्य पारामा मनाउँदै लानुपर्ने बताउँदै यस्ता मौलिक परम्पराको जगेर्ना गर्ने कार्यलाई टोखा नगरपालिकाले सँधै सहयोग गर्ने कुरा बताउनुभयो।
तीज गीत प्रतियोगितामा ग्रामसेवा मा.वि. प्रथम भएको थियो । पद्यचक्र स्कुल दोस्रो हुँदा तेस्रो स्थान शुभकामना स्कुलले हात पारेको थियो। शान्तवना पुरस्कार भने मौलिक लोक कला संस्कृति केन्द्रले पाएको थियो । प्रथम हुने टिमले २५,००० नगद, ट्रफी र प्रमाणपत्र पाएको थियो । दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउँदा तेस्रो हुने टिमले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाएको थियो । त्यस्तै शान्तवना पुरस्कार पाएको मौलिक लोक कला संस्कृति केन्द्रले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । उत्कृष्ट रचनातर्फ बसन्त नगर महिला समूहतर्फ अप्सरा रिजालले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: