
काठमाडौं, भदौ ७ गते शनिबार । साहित्य सन्ध्याकोे ४६६ औँ विशेष शृङ्खलामा पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् शिक्षामन्त्री माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो । विशेष अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.डा.देवी नेपाललगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०१५ असोज २४ गते कास्की जिल्लाको हालको पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा माता सुकुमाया लामिछाने र पिता शुकदेव लामिछानेका सुपुत्रका रूपमा जन्मिएका कपिलदेव लामिछानेलाई रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
वि.सं.२०४२ असोज ४ मा धादिङ जिल्लाको जोगिमारा ७, भारपाङमा माता रिबनकुमारी श्रेष्ठ र पिता भोवलाल श्रेष्ठका सुपुत्रका रूपमा जन्मिएका नवराज श्रेष्ठलाई रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
सर्लाही जिल्लामा आमा रुद्रदेवी ढकाल र बुबा देवानन्द ढकालकी सुपुत्रीका रूपमा जन्मिनुभएकी मञ्जु दाहाललाई रु.दश हजार राशिको साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मानद्वारा सम्मानितद्वारा सम्मानित गरिएको थियो ।
वि.सं.२०५८ असोज २८ मा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.८, दाप्चामा आमा दुर्गादेवी वाग्ले र बुबा रामकृष्ण अधिकारीका सुपुत्रका रूपमा जन्मिएका सरोज अधिकारीलाई रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
वि.सं.२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडालाई रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
पुरस्कृत सबै व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको थियो भने प्रमुख अतिथिले पुरस्कार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री रघुजी पन्तलगायत नर्मदेश्वरी सत्याल, साहित्यकार पोषरमण चापागाईँ, प्रा.डा.कपिल लामिछाने, डा.मञ्जु दाहालले नेपाली साहित्य, साहित्य सन्ध्या र यसका साहित्यिक गतिविधि र पुरस्कारहरूका बारेमा आफ्ना धारणाहरू राख्नुभयो थियो ।
उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । २०८१ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि सल्लाहकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले व्यक्तित्व चयन गरी सिफारिस गरेको थियो । संयोजक वासुदेव अधिकारीले पुरस्कृतहरूको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: