मोती जयन्तीमा ज्ञवालीको ‘बा, आमा र म’ लोकार्पण

९ भाद्र २०८२

काठमाडौ, भदौ ७ गते शनिबार। मोतीजयन्ती, कुशेऔँसी, बाबुको मुख हेर्ने दिनको अवसर पारेर नेपाली शिक्षा परिषद् काठमाडौँमा विभिन्न कार्यक्रम गरियो । समस्यापूर्ति कवितावाचन, युवा वर्ष मोती पुरस्कार समर्पण तथा ज्ञाननिष्ठ ज्ञवालीको “बा, आमा र म” कृतिको लोकार्पण समेत गरिएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुकुन्दशरण उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो । विभिन्न कविहरूले कविता वाचन गरेर मोतीरामको सम्झना गरियो । पोखराका कवि छन्दमणि त्रिपाठीलाई युवा वर्ष मोती पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

त्यस अवसरमा स्रष्टा ज्ञवालीले आफ्नो कृतिबारे सङ्क्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रममा मोतीरामको विशेष चर्चा समेत भएको थियो ।

स्रष्टा ज्ञवालीका कविता, खण्डकाव्य, बालकथा, बालकविता, निबन्ध, समालोचना, भाषाणकला लगायतका दुई दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् भने सम्पादन, पाठ्यपुस्तक, अभ्यासपुस्तक लगायतका १०० भन्दा बढी
कृतिहरू छन्। विविध विधामा निरन्तर फुटकर लेख, रचनाहरू प्रकाशित गर्दै आएका ज्ञवालीको ‘बा, आमा र म’ मिश्रण विधाको कृति हो। कुपण्डोलकी विनिता ढकाल प्रकाशित रहेको यस पुस्तकको मूल्य रु. ५५५।- रहेको छ।

प्रतिक्रिया दिनुहोस्: