साउन २०८२। आफ्ना पितृहरूले पाऊन् भने उद्देश्यले उनीहरूको प्रिय वस्तु जल, तिल, फलफूल, दूध, दही, खाद्यपदार्थहरू, वस्र आदि देश काल अनुसार श्रद्धाले विधिपूर्वक सत्पात्र ब्राह्मणलाई जो दान दिइन्छ त्यही श्राद्ध हो ।
श्राद्ध नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डी, पार्वण, गोष्ठी, शुद्धि, कर्माङ्ग दैविक, यात्रा र पुष्टि श्राद्धसमेत बार प्रकारका हुन्छन् । ती मध्ये पार्वण श्राद्ध पितृपक्षमा अर्थात् अश्विनकृष्ण पक्षमा गरिन्छ । प्रतिपदादेखि औँसीसम्म आफ्ना र आश्विन प्रतिपदामा मावलीका पितृको निमित्त मातामहश्राद्ध हुन्छ । सोरदिनसम्म पार्वणश्राद्ध गरिने हुँदा सोरश्राद्ध भनिएको हो । पार्वणश्राद्ध अपरान्हमा गर्नुपर्दछ ।
सूर्य कन्याराशिमा गए पनि नगए पनि पितृपक्षमा श्राद्ध गर्नुपर्दछ । कुनै कारण (जुठो सूतक वा पत्नी रजोवती भएमा) ले रोकिएमा गाईतिहारेऔँसीमा गर्नुपर्दछ । त्यसमा पाने रोकिएमा मार्ग सङ्क्रान्तिमा पार्वण श्राद्ध गर्नुपर्दछ । गृहस्थी भएर पनि पार्वणश्राद्ध नगरेमा आफ्नू भाग नपाएका पितृहरू पीडित भएर सुस्केरा हाल्दै आफ्नो लोक फर्कन्छन् । यसरी जसका पितृहरू निराश भएर फर्कन्छन् उसका धन पुत्र हुँदैनन्, भए पनि सन्तानको राम्रो उन्नति, प्रगति हुँदैन । त्यसलै त द्यौता दिने पितृ हर्ने भनिन्छ नि ।
श्राद्ध भाग पाएर खुशी भएका पितृहरूले आफ्का सन्ततिलाई आयु, सन्तान, धन, विद्या, राज्य, सुख, स्वर्ग र मोक्षसमेत पनि प्रदान गर्न सक्दछन् । त्यसैले गृहस्थाश्रमीले आफ्ना दिवंगत पितृहरूको निमित्त श्रद्धाले विधिपूर्वक श्राद्ध गर्नुपर्छ । गर्दा आफ्नै कल्याण हुन्छ ।
कसै कसैले पार्वणश्राद्धलाई दशैँको पूर्वाङ्ग पनि भन्दछन् । सोरश्राद्ध समाप्त भएकै दिन दशँैको घटस्थापना हुन्छ । देवकार्यमा पहिले पितृ र पित्तृयज्ञमा पहिले विश्वेदेवा को पूजा हुन्छ । पितृयज्ञ अर्थात् पार्वणश्राद्ध नगरी नवरात्र उपासना गरेको फल पनि प्राप्त नहुँने हुँदा सोरश्राद्धलाई दशैँको पूर्वाङ्ग भन्दा पनि अत्युक्ति नहोला ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: