साहित्य
यो राष्ट्रको सेवक कर्मचारी ।
आफैं भएको छु बनी विचाारी ॥
अन्याय नै न्याय कतै ठहर्ने ।
उद्देश्य हो केवल पेट भर्ने ॥ १ ॥
गर्नै नमिल्ने छ भने नि काम ।
पैसा दिए हुन्छ छिटै तमाम ॥
सित्तै कुनै फाइल नै नसर्ने ।
उद्देश्य हो केवल पेट भर्ने ॥ २ ॥
छोडेर गर्नै पनि सत्य बात ।
आफ्ना सबै ग्राहकवर्ग साथ ॥
बोल्दा कडा कर्कश शब्द गर्ने ।
उद्देश्य हो केवल पेट भर्ने ॥ ३ ॥
पैसाविना मिल्छ जड़ी जनाउ ।
भ्याइन्न है आज त भोलि आऊ ॥
यस्ता क्रमैले कति भोलि सर्ने ?
उद्देश्य हो केवल पेट भर्ने ॥ ४ ॥
गम्केर बस्छन् कतिला नबोली ।
भन्छन् कुनै आउनु फेरि भोलि ॥
कर्तव्य आफ्नू कहिल्यै नगर्ने ।
उद्देश्य हो केवल पेट भर्ने ॥ ५ ॥
मध्यस्थका मार्फत दिन्छु दाम ।
भन्दा तुरुन्तै पनि हुन्छ काम ॥
बेकारमा भोलि नकुर्नुपर्ने ।
उद्देश्य हो केवल पेट भर्ने ॥ ६ ॥
छन्द : इन्द्रवज्रा ।


प्रतिक्रिया दिनुहोस्: