माझी दाइ !
राम्ररी चलाऊ है
यो डुङ्गा,
लापरवाही नगर है अब ।
कहिले चट्टानमा पुर्याउँछौ
भीरमा ठोकाउँछौ
कहिले भुमरीमा पार्छौ
हाम्रो मुटु नै हल्लाई दिन्छौ
एउटा भुमरीबाट उम्कियो
अब त यात्रा
सरल र सुगम
होला भन्यो
तर फेरि
कता कता, के के गर्दै
अर्को भङ्गालोमा पुर्याउँछौ
जानी जानी तर्साउँछौ
गन्तव्यमा पुग्नु अगावै
दिनुसम्म सास्ती दिन्छौ
सधैंको त्रास, सधैंको दुःख ।
पारि पुर््याउनु तिम्रो काम हो
हामी जान अथवा पुग्न
राजी छौं,
तर यात्रा सजिलो गराए
तिम्रो के बिग्रन्छ र ?
कसलै तिम्रो काम
अथवा तिम्रो जागिर खोस्दैन,
तिम्रो डिमोसन हुँदैन ।
हामीसँग मात्र हैन यो खेलाँची
युगयुग बितिसक्यो,
तर सधै उस्तै ।
यात्रीको वेदना
तिम्रो मनोरञ्जन
यात्रीको दुःख
तिम्रो मुस्कान
कहिल्यै नसकिने तिम्रो रहर ।
कुशल नाविक भएमा
तिम्रो शान, मान, कम हुने छैन
झन् सम्पूर्ण प्राणीको प्रिय हुन्छौ ।
तिमी असक्षम नाविक पनि हैनौ
तैपनि तिम्रो यो केको रहर ?
आफ्ना यात्रीलाई तर्साउने !
तिम्रो लक्ष्य हो
हामीलाई पारि पुर्याउने
पारि पुग्नमा,
हामी दुखित हुँदैनौ
यात्राको कठिनाइमा मात्र
हाम्रो दुःखेसो हो ।
हामी हाम्री आमाको
गर्भमा आएदेखि नै
तिमी सञ्चालक भएका छौ
हाम्रो यात्राको चालक,
आखिर हाम्रो यात्रा
धेरै लामो पनि त छैन
केही दिन केही वर्षको त हो,
हामीलाई पारि पुग्नै छ.
यसैले हाम्रो एउट गुनासो
डुङ्गा सरर चलाइदेऊ
यात्रा सुमधुर बनाइदेऊ
ढिलो अथवा चाँडोको
हामीलाई केही अर्थ छैन
हामी रमाउँदै पुग्न चाहन्छौ
डुङ्गा कतै नठोकियोस्
बिन्ती माझी दाइ !
अबदेखि राम्ररी चलाऊ है
बिन्ती माझी दाइ !
म्हेपी, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: