कविता

इडन ब्रिजको कविता

१ आश्विन २०८२
इडन ब्रिज एकेडेमी

शान्तिको दियो
खुशीपल परियार
कक्षा : १०

आज पनि न्याउलीले बास पाएन कि
कुहुकुहु कोइलीले गीत गाएन कि ।
किन होला वसन्तलाई छाडेर पो गइछ
सालघारीको वनमा हेर ऊ त रुँदै रहिछ ॥

बुझीहेर उसको पिर कुन खालको रै’छ
नेपालीको सन्तानको बेहालत पो रै’छ ।
रातभरि दिनभरि चल्यो बारुद गोली
खेलेका छन् दाजुभाइले रगतका होली ॥

कोही आमा भन्थे अरे कोही पानी भन्थे
यस्तो दुःख देखी न्याउली धुरुधुरु रुन्थे ।
कुन दानवले ल्यायो होला दाजुभाइमा फाटो
नगरौँ न दाजुभाइमा यस्तो मारकाट ॥

दाजुभाइमा हुन थाल्यो किन हानाहान
एउटै देशमा जन्मेका हामी हौं सन्तान ।
रिस, राग मनबाट सबले फाल्नुपर्छ
हामी मिली शान्तिको नै दियो बाल्नुपर्छ ॥
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं।

हाम्रो प्यारो बुबा
दिपिका थापा
कक्षा : ७

खै कसरी परिचय दिउँ
म हाम्रो बुबाको
हाम्रो खुसीका लागि
अर्काको देशमा पसिना बगाउनु हुन्छ
हाम्रो बुबा ! ऐया आत्था नभनी
हाम्रो लागि आफ्नो सपना लुकाउनु हुन्छ
हाम्रो प्यारो बुबा ।

हामी सफल हुँदा
आफू सफल भएको ठान्नु हुन्छ
हामी दुःखी हुँदा
सान्त्वनाको फूल फुलाउनु हुन्छ
हाम्रो बुबा !

आफू खाई नखाई
हामीलाई मीठो खुवाउनु हुन्छ
आफू फाटेको लगाएर
हामीलाई नयाँ किनिदिनु हुन्छ
हाम्रो बुबा !

जति दुःख पीडा भए पनि
हामीलाई हँसाउने हाम्रा बुबा
आफू जमिन भासिएर
हामीलाई उचाल्ने हाम्रा बुबा
साँच्चिकै प्यारो हुनुहुन्छ
हाम्रो बुबा !

साँच्चिकै महान् हुनुहुन्छ
हाम्रो बुबा !
हजुरलाई कोटिकोटि प्रणाम छ
हजुरलाई हृदयदेखि नै सम्मान छ ।
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं ।

प्रकृतिको सुन्दरता
सपना ऐरी
कक्षा : ९

रङ्गीचङ्गी फूलहरू
फुलेका छन् वनमा
फूलहरू देखेर
खुसी छायो मनमा ।

नानाथरी पुतली
घुमेका छन् फूलमा
जानुहुन्न साथी हो
माहुरीको हूलमा।

कोइलीले गीत गाउँछिन्‌
मयुर हेर नाच्दछिन्‌
ईन्द्रधनुष देखेर
कमर पनि भाँच्दछिन्‌ .

सललल खोलामा
बग्छ हेर पानी ।
तिमी राजा म रानी
भन्दै खेलौँ हामी ॥
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: