उनका दुई भाइ छोरा एक बहिनी छोरी थिए । जेठो छोराको बिहे गरेपछि घरमा सुख, शान्ति भित्रियो भनेर बुढाबुढी मख्ख परे । छोरीको पहिला नै विवाह भैसकेको थियो । बुहारीको राम्रो व्यवहारले उनीहरू खुशी थिए । घर स्वर्ग जस्तो लाग्न थालेको थियो । भगवान्ले कसरी जुराइदिए यस्ती बुहारी भनेर बुहारीको प्रशंसा गर्न कहिले छाडेनन् उनीहरूले ।
त्यसपछि कान्छो छोराको बिहे भयो । केही महिनापछि बुहारीहरूमा द्वन्द्व चल्न थाल्यो । छोराबुहारीहरू बाहिरै गएर खाना खान थाले । भान्सामा खाना पाकेन । बुढाबुढी भोकै पर्न थाले ।
एकदिन चारै जना छोराबुहारीहरू भेला भएर छलफल गरे । छलफलको विषय थियो बाआमा को कसले राख्ने भनेर । जेठो छोराले भन्यो, ‘हामी एउटा चिठ्ठा हालौँ बा आमा ककसको भागमा पर्नुहुन्छ,
उसैले राखौँ र यो घरसम्पत्ती दुई भाइको नाममा पास गरौँ ।’
कान्छो छोराले पनि दाजुको कुरामा सहमति जनायो । छोराहरूको कुरा सुनेर बाउले भने, ‘ठिकै छ तिमीहरूको त्यस्तै इच्छा छ भने त्यसै गरौँला । पहिला छरछिमेक, दाजुभाइ, वकिल र दिदीलाई पनि बोलाउनुपर्छ अनि सबै बसेर छलफल गरौँ ।’
उनीहरूले बाउको कुरा माने । घरमा सबै जम्मा भए । छलफलपछि वकिलले सोधे, ‘भन्नुस् अब के लेखौँ ?’
बाउले भने; ‘यी नालायक छोराहरूले हामीलाई भोकभोकै राखे । बिरामी पर्दा ओैषधी, उपचार पनि गरेनन् । यिनै छोरीले हाम्रो रेखदेख गरिन् । यो सम्पत्ति म छोरीलाई दिन चहान्छु । त्यही लेखिदिनुस् वकिल साब !’
गोँगबुँ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: