भगवान् ! म तिम्रो काखमा
लुटपुटिरहेको थिएँ
जूनतारासँग रात अबेरसम्म
खेलिरहेको थिएँ लुकामारी
के कुरामा चित्त नबुझेर
पठाइदियौ आमाको कोखमा
र बनाइदियौ म छोरीलाई शरणार्थी ?
तिमीले मलाई
आमाको कोखमा पठाएपछि
मैले त्यसैलाई संसार ठानेकी थिएँ
पाठेघरको चौघेरालाई
मैले आफ्नो देश ठानेकी थिएँ
सालनालमै बेरिएर भए पनि
मैले आफूलाई
बैरीहरूबाट सुरक्षित गरेकी थिएँ
त्यसैलाई आफ्नो देश सम्झेर
माया गर्न थालेकी थिएँ
भगवान् ! खै के कुरामा चित्त नबुझेर
नौ महिनापछि
मलाई पृथ्वीमा पठाइदियौ
र फेरि म छोरीलाई शरणार्थी बनायौ ।
पहिलोपटक
पाइला टेकेको धूलोलाई
मैले आफ्नै देश ठानेकी थिएँ
आफ्नै घर भनेर
सम्हालिरहेकी थिएँ आफूलाई
भगवान् के सम्झेर
मलाई पराई घर पठाइदियौ
र फेरि एकपटक
म छोरीलाई
अनाहकमा शरणार्थी बनाइदियौ ।
म मेरो बाबाको प्यारी छोरी
म मेरी आमाको आँखाको नानी
तर
न मेरो नाममा एक धुर जमिन
न मेरो नाममा लामकाने बाख्रा
न छिरबिरे भाले
आधी आकाश भन्छन् मलाई
न मेरो नाममा त्यही आकाश छ
त्यहाँ पनि त म शरणार्थी नै त हूँ नि !
श्रीमान्को घर
जुन तिमी मेरो घर भन्छौ
त्यहाँ पनि
न म आफ्नो मर्जिले चल्न सक्छु
न मेरो मर्जिले भान्साघर चल्छ
न मेरो अनुमतिले
एक रुपैयाँ बजार जान्छ
त्यहाँ पनि त
म शरणार्थी नै त हूँ नि !
धरती, तिमी जसलाई मेरो घर भन्छौ
न यहाँ खुलेर हिड्न सक्छु
न आफ्नो खुसीले केही उब्जाउन सक्छु
न बिनात्रास खुलेर श्वास फेर्न सक्छु
न खुलेर हाँस्न सक्छु
न खुलेर रुन सक्छु
मैले यहाँ हिड्न नि अनुमती लिनु पर्छ
यहाँ पनि म शरणार्थी नै त हूँ नि !
सरणार्थीले
न राम्रो स्कुल पढ्न पाउँछ
न राम्रो खानेकुरा
न राम्रो कपडा न सम्मान
भाइ स्कुल
म गाइको गोठ
दाइ अफिस
म दाउरा घाँस
शरणार्थीको कुनै देश हुँदैन
कुनै घर अनि रहर हुँदैन
न स्कुल न पाठशाला
न घरबारी न वन
शरणार्थीको जिब्रोमा स्वाद नि हुँदैन
न त मनोरञ्जन
शरणार्थीको केही पनि हुँदैन
उडी हिड्ने चराको गुँड हुन्छ
कुदी हिड्ने माछाको पनि देश हुन्छ
चरी हिड्ने कङ्गारू
अनि जेब्राको पनि त घर हुन्छ
गोही र गैँडाको पनि त देश हुन्छ
भनिदेऊ न भगवान् !
म छोरी यानेकी शरणार्थीको
देश किन हुदैन ?
शरणार्थी किन मान्छेको कोटिमा पर्दैन ?
छोरीको किन आफ्नो देश हुदैन ?
टोखा–४, धापासी, काठमाडौं।
(प्रेम राई इडन ब्रिज एकेडेमी, धापासी, काठमाडौंका संस्थापक प्रिन्सिपल हुनुहुन्छ ।)


प्रतिक्रिया दिनुहोस्: