कविता

ऋषि वृक्षका छायामा

३ आश्विन २०८२
मिथिलेश आदित्य

सूर्यको पहिलो किरण उषासँगै फुकाउँदैन अझै
तर रात र भोरको सीमारेखा कम्पित छ,
र म– त्यो मौन घडीमा
महुवा रूखमुनि बसिरहेको हुन्छु,
स्मृतिको जरासँग मौन संवाद गर्दै ।

त्यो रूख, रूख मात्र होइन–
ऋषि हो ऊ, समयको समर्पित शिष्य ।
जसका हाँगाहरू– छन्दका कक्षा,
कलीभित्र– मन्त्रका स्वरहरू,
र उसका सुगन्ध–
मेरो निधारमा ईश्वर– स्पर्श गर्दै बग्छ ।

म लेख्दिनँ–
ऊ स्वयं बोल्दछ मेरो भित्र,
मलाई रच्दछ–
जसरी पृथ्वी बिउलाई,
मौनता शिशुलाई शब्द दिन्छ ।

प्रत्येक फूल– एक श्लोक हो,
प्रत्येक पात– बिर्सिएको ऋचाको पुनर्जन्म ।
उसको बोक्रामा सञ्चित छ समयको तप,
र म– केवल एक शान्त शिष्य,
अक्षर– ज्योति र अग्निको ग्रहणकर्ता ।

कहिलेकाहीँ सोच्छु–
रचनाहरू अमर बनून्,
मेरो नाम पनि युगौं बाँचिरहोस् ।
तर त्यो क्षणमै
एक भय जन्मिन्छ भित्रैबाट–
कतै इतिहासले नलेखोस्‌ः
‘ऊ त कवि थिएन,
केवल महुवाले बोल्दथ्यो ऊमार्फत ।’

त्यसपछि–
म मेरो समस्त अस्तित्व
त्यो वृक्षलाई समर्पण गर्छु ।
यदि कुनै दिन
कसैले मेरो कविता पढोस्,
उसले महुवाको छायामा आफ्नै छायाँ पाओस् ।
र यदि कसैले मलाई कालजयी भन्ला,
ऊ यसरी भनिदियोस्‌–
महुवाले रच्यो उसलाई–
जसरी ऋतु रच्दछ ऋतुचक्र ।

अररिया, बिहार, भारत।
हाल : विराटनगर, मोरङ्ग। 

प्रतिक्रिया दिनुहोस्: