लघुकथा

तप

३ आश्विन २०८२
भूमिका गैरे तिमिल्सिना

आमाले छोरीलाई झम्टिएको देखेर सुन्दरीले भनी, ‘मैयाँले साह्रै दुःख पाई, आखिरी ! सौतेनी आमा न परी, बाउ पनि उस्तै छ । आमाको इशारामा नाच्छ, केही भन्न सक्दैन ।’
‘आफ्नी पनि त छोरी छे तर त्यसलाई केही भन्दिन, काम पनि लगाउँदिन । सौतेनी आमाको जात जनाइहाल्नु पर्ने रहेछ ।’ मालतीले खासखुस गरी ।
‘घरको बाहिर, भित्र सबै काम उसैले धानेकी छे, कस्तो माया पनि नलाग्ने रहेछ ? आफ्नै आँखा अगाडि अन्याय देखेको छ तर हामीले केही भन्नै हुँदैन, खाउँला जस्तो गर्छे ? तिमीहरूले नै लगेर पाल न भन्छे’, सुन्दरी फत्फताई ।
‘चाडपर्व आउँछ तर अहँ, त्यो केटीले एकसरो लुगा फेर्न पाउँदिन । पेटभरि खान पनि पाउँदिन । दुष्टले नोकर्नी नै बनाएर राखेकी छे’, अमिलो मन पार्दै मालती बोली ।
सुन्दरी र मालती कुरा गर्दै थिए । मैयाँले आमाको दुर्व्यबहारको प्रतिकार गरोस् न भन्ने उनीहरूलाई लाग्दै थियो । तर झम्ट्याइ खाएकी ऊ त नमस्कार गर्दै, बढो उत्साहित भएर भन्दै थिई,
‘तिमीले दिएको कठोर तपको फलले आज हरेक चुनौतीमा खरो उत्रन सकेकी छु । धन्यवाद आमा !’

गैंडाकोट–४, नवलपुर। 

प्रतिक्रिया दिनुहोस्: