‘बुढा ! यसपटक तीजमा सबैले एउटै सारी लगाउने भनेका छन् । मलाई पनि पैसा दिनुहोस् न है !’ सुधाले लक्ष्मणलाई भनिन् ।
‘भइहाल्छ नि बुढी, यत्रो तीजमा जाबो त्यति एउटा सारी किन्ने पैसा नि दिन्न होला त !’ लक्ष्मणले खुसी हुँदै भने ।
केही समयमा सारी किन्न जाने मान्छे सुधाकै घरमा जम्मा भए तर लक्ष्मणले सारी किन्ने पैसा नै दिएनन् । सुधाले केही नबोलिकन आफ्नै दराजबाट पैसा झिकेर दिइन् ।
‘तपाईं त कस्तो मान्छे ! पहिलाचाहिँ पैसा दिन्छु भनेर अहिलेचाहिँ दिनु नै भएन । केही गरी मसँग पैसा नभएको भए के हुन्थ्यो ?’ सुधाले सबैजना त्यहाँबाट बाहिरिएपछि रिसाउँदै लक्ष्मणलाई भनिन् ।
‘तिमी मसँग रिसाउनुलाई म स्वाभाविकै मान्छु बुढी तर तिनीहरूले तिमीसँग गरेका व्यवहार मलाई पचेन त्यही भएर मैले पैसा दिइनँ’, लक्ष्मणले अनुहार बिगार्दै भने ।
‘होइन ! तिनीहरूले मलाई के त्यस्तो व्यवहार गरे र तपाईंले गरेको वाचा पनि पूरा गर्नुभएन ?’
सुधाको जिज्ञासालाई मेटाउँदै लक्ष्मणले प्रतिप्रश्न गरे, ‘तिमीले बजार जान नभ्याउने कुरा गरेपछि निशाले जान नभ्याउनेको पनि गाडी भाडा हिसाब गरेर सारीको पैसामा जोड्ने कुरा गरिन् । मनको रङ नमिल्नेसँग सारीको रङ मात्रै मिलाएर के गर्नु बुढी !’
बूढानीलकण्ठ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: