सुन्दा पनि आनन्द लाग्ने अनलाइनको कुरा
शैक्षिक उन्नयनमा लाग्दै इच्छा गरिदिन्छ पूरा
सम्बन्ध छ अनलाइनसँग शिक्षाको सधैँभरि
बढाऔँं ज्ञानको दायरा यसैसँग सङ्गत गरी
प्रज्ञा नेपाली शब्दकोशले कम्प्युटर वा मोबाइलअन्तर्गत इन्टरनेटको विश्वव्यापी तरङ्गबाट सन्देश आदानप्रदान गर्ने पद्धतिलाई अनलाइन भनेर परिभाषित गरेको छ । वेब टेक्नोलोजी र नेटवर्कका माध्यमबाट जानकारीहरू प्रवाहित हुने माध्यम नै अनलाइन हो । आजको सूचना र प्रविधिले चामत्कारिक कार्य गर्ने क्रममा शिक्षासँग पनि अनलाइन अभिन्न अङ्ग भएर जोडिएको छ । सुनेर ,सिकेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने व्यावहारिक वा सैद्धान्तिक विषयको बोध गर्ने क्रममा शिक्षासँग अनलाइनको सम्बन्ध अत्यन्तै परिपूरक मानिन्छ । समयले २१ औँ शताब्दीमा आइपुग्दासम्म शिक्षाको क्षेत्रमा ठूलो कायापलट ल्याइसकेको छ । सुदूर विगतदेखि भोजपत्र, धुलौटे पाटी, खरी, चक, डस्टर र मार्कर हुँदै आज शिक्षामा अनलाइनले सूचना र प्रविधिको सहज पहुँच पुर्याएर शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ भन्ने कुरामा कुनै दुई मत नहोला ।
विद्यार्थीलाई नवीन भन्दा नवीन कुरा खोतलेर ज्ञानको दायरा फराकिलो बनाउने कुरामा अनलाइन कोसे ढुङ्गाको रूपमा साबित भएको छ । अनलाइनमार्फत विविध एपहरू प्रयोग गरी अध्ययनलाई रुचिकर बनाउन र लेखाइलाई उत्कृष्ट बनाउन अनलाइनले धेरै सहयोग पुर्याएको छ । अनलाइनको कारण सिकाइ प्रणाली सरल, प्रायोगिक, मनोरञ्जक र चिरस्थायी बन्छ । नयाँ नयाँ खोज र अनुसन्धान गरेर नयाँ कुरा सिक्ने बानीको विकास हुन्छ । यसले परियोजना कार्यमा समेत विद्यार्थीलाई अब्बल बनाउँछ ।
अनलाइनको कारण ठूला ठूला झोलामा किताबका ठेली बोकेर हिँड्नुपर्ने परिपाटीको अन्त्य भएको छ । इमेलद्वारा नै गृहकार्य दिने र बुझाउन सकिने प्रचलन बढ्दै गएको कुराले पनि शैक्षिक विकासमा अनलाइनको महत्त्व अत्यन्तै धेरै रहेको कुरालाई ऐनामा झैँ छर्लङ्ग बनाउन सकिन्छ । पाठ्यपुस्तकका पीडीएप्mको लिङ्कमार्फत पूरै किताब पढ्न सकिने हुनाले बजारमा किताब कहिले आउला र पढुँला भनेर ढुकेर बस्नुपर्ने पुरातनवादी प्रतीक्षाले टाप कसिसकेको छ । आफूलाई मन लागेका बेलामा अनलाइनमार्फत पूरै विश्व पिउन सकिन्छ भने एउटा शैक्षिक क्षेत्रमा चाहिएका यावत् कुरा नपाइने त प्रश्नै रहँदैन नि । आज हामी जुन मञ्चमा उभिएर आफ्नो प्रतिभा प्रस्फुटन गर्दै छौँ त्यो पनि अनलाइनकै कारणले सम्भव भएको छ । जुन कुरालाई अनलाइन कुनै न कुनै रूपमा विद्यार्थीको शैक्षिक उन्नयनमा अहोरात्र हितकारी बनेर लागिपरेको कुराको ज्वलन्त दृष्टान्त हो भन्दा कुनै अत्युक्ति नहोला । यसका साथै विभिन्न प्रकारका समाचार र गतिविधि पस्केर अनलाइनले विद्यार्थीको पाठ्यपुस्तकमा भएका विषयवस्तुलाई खुराक थप्ने काम गरेको हुन्छ ।
सन् २०१९ मा कोभिडको मारमा धेरैजसो देशका विद्यार्थीहरू परे । नेपालमा पनि ९० लाखभन्दा बढी विद्यार्थी लकडाउनको चपेटामा परे । त्यतिबेला नेपाललगायत विश्वको शिक्षा क्षेत्रलाई उन्नत तथा गुणस्तरीय बनाउन अनलाइन शिक्षालाई विकल्पको रूपमा जोड दिइएको थियोे । यसकारणले गर्दा लामो र अत्यासलाग्दो अन्तरालमा कसैले पनि आफ्नो पढाइमा पूर्णविराम लगाउनु परेन । सबैले अनलाइनबाटै अध्ययन, अध्यापनको अवसर पाएर माथिल्लो कक्षामा प्रवेश गर्ने सुनौलो अवसर पाए । यसबाट यो कुरा प्रमाणित हुन्छ कि कुनै पनि प्रकोप वा महामारीमा अनलाइन कक्षा सञ्चालनले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ । यति मात्रै नभएर कुनै अतिरिक्त कक्षा लिनुपर्यो भने अनलाइन कक्षामार्फत पनि लिन सकिन्छ । हस्तलेखनका सिपदेखि क्षमता विकासका प्रशिक्षण पनि अनलाइनबाट लिन सकिन्छ । अनलाइनमार्फत विद्यार्थीका विभिन्न परीक्षाका फाराम भर्ने कुरा पनि अत्यन्तै सहज बन्दै गएको छ । यसले गर्दा धाएर जानुपर्ने, घण्टौँ लाइनमा उभिनुपर्ने, एउटै फाराम भर्न पनि पैसा भुक्तानी गर्न र फाराम बुझाउन छुट्टाछुट्टै ठाउँमा पुग्नुपर्ने र झन्झट हुने जस्ता वाध्यकारी अवस्थाको अन्त्य भएको छ । अनलाइनले गर्दा समयको वचत पनि भएको छ ।
अनलाइनकै कारणले आज घरमै बसी बसी विद्यार्थीहरूले एम फिल र पि एच डी गर्न सक्छन् । देश तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरू छानीछानी पढ्न पाउँछन् । सोधपत्रहरू तयार गर्न सक्छन् । घरमै स्वअध्ययन गरेर परीक्षामा सहभागी भई राम्रो ग्रेडका साथ उत्तीर्ण हुन सक्छन् । अनलाइन पठनपाठनबाट विद्यार्थीहरूमा इ–लाइब्रेरी सम्बन्धी सीप, विभिन्न पठन वा अनुसन्धान सामग्री खोज्ने कला, जर्नल, लेख रचना, फ्री रिसोर्स सम्बन्धी सामग्री खोज्ने क्षमताको पनि विकास हुँदै गएको छ जसले विद्यार्थीले किताबको किरा हुनबाट उन्मुक्ति पाएका छन् र उनीहरूको ज्ञानको दायरा फराकिलो बन्दै गएको छ ।
नेपाल सरकारको तथ्याङ्कअनुसार, परीक्षा दिने समयसम्म विभिन्न कक्षाका गरी लगभग ६० प्रतिशत विद्यार्थीले स्कुल छाड्ने गरेका छन् । अनलाइन शिक्षाका माध्यमबाट यस्तो कहाली लाग्दो अवस्थाको अन्त्य गर्न सकिन्छ । अनलाइन शिक्षाले धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्ने मात्र नभई विश्वपरिवेशसँग जोड्ने काम पनि गर्छ । यसबाट तुलनात्मक रूपमा विद्यार्थीलाई आर्थिक भार कम पर्छ । यसबाट गरिएको सिकाइ क्रियाकलाप जीवनोपयोगी हुन्छ । घरघरसम्म शिक्षाको पहुँच पुग्छ । १८ औँ शताव्दीको दशकमा विश्वविद्यालय, क्याम्पसमा हुन नसक्ने विद्यार्थीहरूको लागि पार्सल पोष्ट प्रयोग गरेर सुरू भएको अनलाइन शिक्षाको इतिहास त्यति लामो छैन तर छोटो समयमा आएको सकारात्मक परिवर्तनले शैक्षिक विकासमा टेवा पुराइरहेको कुरामा कुनै सन्देह छैन । शारीरिक अशक्तता, कार्य व्यस्तता भएका मानिसले घरमै बसेर पढ्न पाउँछन् भने शैक्षिक विकासमा अनलाइनको महत्त्व अतुलनीय छैन र ? यसले विद्यार्थीलाई आत्मनिर्भर र अनुशासित पनि बनाउँछ । शिक्षकहरूले अनलाइनबाट तालिम लिएर शैक्षिक गतिविधिलाई अझै प्रभावकारी बनाउन सक्छन् ।
अन्त्यमा अनलाइन कक्षाले विद्यार्थीहरूको शैक्षिक विकासमा कोसे ढुङ्गाको रूपमा काम गरेको कुरा जगजाहेर नै छ । विभिन्न एपहरूमार्फत अनलाइनसँग जोडिएर यसको सदुपयोग गर्न सकेमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्दै अनलाइनले उनीहरूका शैक्षिक स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विज्ञान र प्रविधिले ढपक्कै ढाकिएको र युगान्तकारी परिवर्तन आएको आजको परिप्रेक्ष्यमा अनलाइनलाई पनि शिक्षासँग जोड्दै बढवा दिनुपर्छ र शिक्षामा अनलाइनको महत्त्व सर्वोपरि ढङ्गले सबैलाई बुझाउन सक्नुपर्छ भन्ने ठान्दछु ।
कक्षा : ९
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ, काठमाडौं।
यो लेख कपन अनलाइन डटकमद्वारा आयोजित टेक्सास टपर टक सिजन २ अन्तर्गतको वक्तृत्वकला प्रतोयोगितामा आधारित भएर तयार पारिएको हो ।


प्रतिक्रिया दिनुहोस्: