कविता

दशैँ र दुर्गा वन्दना

१० आश्विन २०८२
Mukunda Sharma Chalise
मुकुन्द शर्मा चालिसे

आएको छ दशैँ दिई सकलमा उत्साह आनन्दको
झल्काएर हरेकका हृदयमा सङ्केत अध्यात्मको
हामी स्वागत गर्दछौँ अझ सुखी हौँला भनी आशमा
आफ्नो मौलिक सभ्यता युगयुगौँ जोगाउने ध्येयमा ॥

दुर्गाको करुणा मिलेर सबमा आओस् भलोभावना
जाऔँ मन्दिरमा कि वा घर रही अर्पौँ समाराधना
प्राणीमा जुन चेतना छ उनको हो अंश सञ्जीवन
यो जानेपछि भक्तिपूर्वक उनैलाई गरौँ पूजन ॥

आऊ हे विजया ! लिएर दशमी श्रद्धालुको आँगन
तिम्रो हार्दिकता मिलेर सबको जाओस् उदासीपन
पाऔँ अग्रजहातबाट जमरा टीका खुसीसाथमा
होऔँ दङ्ग अझै शुभाशिषहरू पाएर सौगातमा ॥

हे देवी मनकामना भगवती दुर्गा भवानी उमा !
यो नेपाल रहोस् समुन्नत भनी बिन्ती गरेँ पाउमा
तिम्रो दर्शन पाउने मन भयो श्रीकुञ्ज उद्यानमा
हे शैलेश्वरि ! आउँदैछु म हिँडी साहित्य सोपानमा ॥

मार्‍यौ शुम्भ निशुम्भ दैत्य उहिले रक्षा गर्‍यौ लोकको
तिम्रो नै करुणा मिलेर सुविधा मिल्ला सबै थोकको
हे दुर्गे जननी ! तिमी अनि जगत् छोरा र छोरी भए
हामी सन्तति गौरवान्वित बनौँ गाएर तिम्रो जय ॥
छन्द : शार्दूलविक्रीडित ।
बूढानीलकण्ठ–४, कैलासकुञ्ज, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: