संस्मरणात्मक निबन्ध

सांस्कृतिक चाड दशैँ

१० आश्विन २०८२
Maya Devi Sharma
माया देवी शर्मा

हाम्रो देशमा बाह्रै महिना केही न केही सांस्कृतिक व्रत, पर्व परिरहेका हुन्छन् । हाम्रो संस्कारसितै जोडिएर आएका यी चाडपर्वहरूले धेरै कुरा सिकाएका हुन्छन् । यिनै पर्वमध्ये ठूलो मानिने चाड दशैँ हो । असौज महिनाको शुक्लपक्षमा प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको पूजा गरिन्छ । दशमीका दिन अपराजितादेवीको पूजा आराधना गरेर प्रसादस्वरूप टीका जमरा लगाइन्छ । अग्रज मान्यजनका हातबाट टीका ग्रहण गर्दै यो चाड कोजाग्रत पूर्णिमासम्म चल्छ ।

खास गरेर दशैँका नौ दिनमा नौ दुर्गाको पूजा गर्ने प्रचलन छ । हाम्रो देश मठमन्दिरले सजिएको छ । यहाँ पूर्वदेखि पश्चिमसम्म कुनै न कुनै देवी भगवती माताका मठ–मन्दिर छन् । जस्तै पाथीभरा, दन्तकाली, पलान्चोकभगवती, गुह्येश्वरी, चण्डेश्वरी, मनकामना, विन्ध्यवासिनी, थन्थापमाई, बाग्लुङ भगवती, मौलाकाली, बागेश्वरी, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारालगायत देवीका थुप्रै मन्दिर छन् । यिनै भगवती देवीले ठाउँ ठाउँमा रहेर हामीलाई रक्षा गरेकी छन् । साथै हामीलाई कर्तव्यमा अघि बढ्न ऊर्जा दिएकी छन् । दशैँका नौ दिनमा यी सबै मन्दिरमा विशेष पूजाआजा गरिन्छ । चन्दन, अक्षता, अनेक जातका फूल, अबिर, ध्वजापताका आदि देवीलाई चढाइन्छ । थुप्रै वलि चढ्छन् । सप्तशती चण्डी आदि पाठ गरिन्छ । दुर्गा माताले दुर्गुणका प्रतीक शुम्भनिशुम्भ, चण्डमुण्ड आदि दैत्यलाई नाश गरेर सद्गुणका प्रतीक देववर्गको रक्षा गरेकी हुन् । आसुरी शक्तिको पराजय र दैवी शक्तिको विजय होस् भन्ने भाव राखेर यो चाड मनाउँदै आइएको छ ।

दशैँ हिन्दुहरूको मुख्य चाड हो । रमाइलो पर्व हो । यो पर्वले अहिलेको परिवेशमा सबै नेपालीको घरमा रमाइलो ल्याएको छ भन्न सकिँदैन । जसको घरमा सबै परिवार सँगै छैनन्, सम्पत्तिको पौल छैन । ती परिवारलाई यो चाड आएपछि मन भारी हुनसक्छ । अनि दशैँले सोचेजति रमाइलो नबनाउन सक्छ । गरीबलाई टिठ मानेर सहायता गर्ने व्यक्ति समाजमा कमै होलान् । फेरि पनि हाम्रा पर्व संस्कारमा आएका छन् । हाम्रा अग्रजले जस्तो सके त्यस्तै गरेर पुस्तान्तरण गरेर गए । यी संस्काररूपी सम्पत्ति सजिलो तरिकाले सन्तानलाई दिएर जानु हामी सबैको दायित्व हो । यी चाडपर्वलाई महङ्गा र भड्किला बनाउनतिर जोड नदिए टिकाउ होलान् ।

शरद् ऋतुमा पर्ने यो चाड रमाइलो मौसम लिएर आउँछ । बाटाघाटा सफा हुन्छन् । यो बेलामा घर सिँगारेर राम्रो बनाइन्छ । नीलो आकाश, सुन्दर दृश्य र राम्रो परिवेशमा यस्तो महत्त्वपूर्ण चाड आउने गर्छ । केटाकेटीहरू मिठो खाना र राम्रो नानामा सजिएर हिँडेको देख्दा मनै रमाउँछ । यिनै नानीबाबुहरूले निलो आकाशमा चङ्गा उडाउँदा हातको लट्टाइ घुमाएको दृश्यले कुन अभिभावकको मन नखिच्ला र ! अनि हिँडिरहेका पाइला कसका नरोकिएला र ! साना ठूला सबै व्यक्ति दशैँको बेलामा चमच्चा, रुइँटे पिङ, लठेपिङ आदि खेलेर रमाइलो गर्दछन् । यो पर्व मनाउनका लागि सरकारले पनि केही दिन बिदा दिन्छ ।

चैत महिनाको शुक्लपक्षमा पर्ने अष्टमी तिथिलाई चैते दशैँ भन्ने प्रचलन छ । चैते दशैँमा बाग्लुङ भगवतीको मन्दिरमा ठूलो मेला लाग्छ । अन्यत्र पनि लाग्छन् होला । यी नवरात्रिमा पनि देवीका मन्दिरमा चहलपहल बढी हुने गर्छ । पूजा पाठ हुन्छन् । वलि चढ्छन् । नवमीका दिन भगवान् श्रीरामको जन्मोत्सव मनाइन्छ । चैते दशैँलाई असौजको जस्तो महत्त्व नदिए पनि पर्व मनाउने चलन छ ।

अन्त्यमा, हाम्रो संस्काररूपी सम्पत्ति मानिएकी दशैँकी देवी हुन् दुर्गाभगवती । उनको माहात्म्य दुर्गा सप्तशतीमा विस्तारपूर्वक गाइएको छ । यहाँ सप्तशती चण्डीको अध्याय ५ का श्लोक राखेर म माता भगवतीलाई नमस्कार गर्छु ।

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता
नमस्तस्यै ॥७१॥ नमस्तस्यै ॥७२॥ नमस्तस्यै नमो नमः ॥७३॥
अर्थात् जुन भगवती देवी दुर्गा सबै प्राणीमा आमा भएर बसेकी छन् ती भगवती देवी दुर्गालाई नमस्कार छ, नमस्कार छ, नमस्कार छ ॥

बूढानीलकण्ठ–४, कैलासकुञ्ज, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्: