उबेलाको दशैंमा त उद्युमै रमाइलो हुन्थ्यो । हामी केटाकेटीहरू कहिले दशैं आउला र नयाँ नाना लाउन पाइएला अनि मासुभात खान पाइएला भनेर दशैंको ब्यग्र प्रतिक्षामा हुन्थ्यौे । आमा, काकी, भाउजूहरूलाई थरी थरी रङ्गका माटो जस्तै कमेरो, गेरु, पहेँली, कालीमाटी ल्याएर घर लिपपोत गरी सिँगार्न चटारो पर्थ्यो । बुबा, काका, दाइहरू बाटोघाटो खनेर सुधार गर्न र बाबियो काटेर लठ्ठे, पिङ् बाट्न, बाँसको लिङ्गो गाड्न व्यस्त रहन्थे । मलाई त मिठो खान पाइने । न स्कूल जानु पर्ने टण्टा, न पुर्याउनु, टार्नुपर्ने चिन्ता । टन्न पेटभरि खायो चचहै चचहै भन्दै लिङ्गेपिङ मच्चायो, तुर्लङ्ग झुन्डिएकोे रोँटेपिङको पिर्कामा बसेर हावामा झुल्यो । जाँते पिङ्मा बसेर जाँतो जस्तै फलफनी घुम्दा खुव मजा..लाग्थ्यो ।
दशैं घटस्थापनाको दिन देखिनै सुरुहुन्थ्यो । त्यसदिन बुबाले बिहान सबेरै उठेर न्वाइवरी आँधी खोलाबाट चोखो बालुवा ल्याएर त्यसमा जौ मकै रोपेर पूजा गरी जमरा राख्नुहुन्थ्यो । जमरा राखेको ठाउँ नजिकै तामाको घडा राखेर दुर्गा देवीको स्थापना गरी दिनदिनै दुर्गा सप्तसती पाठ, पूजा, आराधना गर्नुहुन्थ्यो । बुबालाई कतै जानुपर्दा वा पूजागर्न समय नमिल्दा तिमीले गर भनेर मलाई सिकाउनु भएको थियो । त्यसैले उहाँको अनुपस्थितिमा मैले पूजा, पाठ गर्ने गरेकी थिएँ । पाठ गर्ने किताब संस्कृतमा लेखिएकाले उच्चारण गर्न बडो कठिन लाग्दथ्यो । तापनि जानी नजानी पाठ गर्थें अनि सकिएपछि हात जोडेर हे ! दुर्गामाता गल्ती भए मलाई माफ गर्नुहोला । म अज्ञानी छु राम्ररी पढ्न जानेको छैन, भन्ने गर्थें । त्यसो भन्न मलाई बुबाले नै सिकाउनु भएको थियो । पूजा गरिसकेपछि अघिपछि उज्यालै छोड्ने गरेको पूजा कोठालाई झ्यालढोका बन्द गरी पर्दा लाएर अँधेरो पारिन्थ्यो । बुबालाई किन त्यसो गरिएको भनेर सोध्दा जमरा पहेँलो बनाउन सूर्यको किरण, हावादेखि बचाउनु पर्छ नत्र हरियो हुन्छ, भन्नुहुन्थ्यो ।
जमरा राखेको सातौ दिनमा अर्थात सप्तमीका दिन फूलपाती भित्र्याउँने भनेर बुबाले बारीबाट उखु, सयपत्री फूलको बोट, सानो हाँगापात सहितको जोडा बेलौती (अम्बा) र अरू पनि थरी थरीका वनस्पतिका बोटहरू ल्याएर जमरा राखेको कोठामा भित्र्याउनु हुन्थ्यो । जमरा राखेको कोठामा आमा, दिदीहरूलाई बुबाले पस्न दिनुहुन्थेन तर मलाई भने पूजा गर्न दिएको देखेर दिदीहरू मेरो ईर्ष्या गर्र्थे । कान्छी छोरी बुबाकी प्यारी भएकी खुब भनेर मलाई आँखा तर्थे ।
जमरा राखेको आठौं दिनलाई अष्टमी भनिन्थ्यो । अष्टमीका दिन दुर्गा स्थापना गरेको ठाउँमा पशुपन्छीको बलि दिने चलन थियो । तर हाम्रो बुबाले भेट्ना र फूल झरिनसकेको कुबिन्डो ल्याएर बाँसका सिन्को घुसारेर चारओटा खुट्टा हालिदिएर उभ्याई ‘ल हेर यो टाउको हो यो पुच्छर’ भन्दै बोकाको प्रतीक बनाएर बलि दिनुहुन्थ्यो । बुबा आफ्नो हातले कहिले पनि पशुपन्छी काटमार गर्नुहुन्थेन ।
अष्टमीको दिन दशैंको मुख्य खानपानको दिन मानिन्थ्यो । गाउँका देवीथानहरू पञ्चबलि (राँगा, बोका, भेँडाको थुमा, हाँस, कुखराको भाले) काटेर बलि दिन्थे । त्यसैलाई प्रसाद मानेर खाने चलन थियो । खास गरी गाउँको एउटा निश्चित ठाउँमा मौलो गाडिएको हुन्थ्यो त्यो बलियो काठको हुन्थ्यो । त्यसमा राँगालाई बाँधेर तरवारले मार हान्थे । मारहान्नेहरूको छुट्टै समुह थियो । उनीहरू हातमा लामो तरवार बोकेर हिँड्थे । हेर्दै ज्याङ्गो शरीरका ती मान्छेहरू हाम्रो घरमा आउँदा म डरायर भित्र लुक्न जान्थेँ । अनि गए कि गएनन् भनेर झ्यालबाट च्याएर हेर्र्थें ।
अष्टमीका दिन हाम्रो घरमा पनि बुबाले खसी काट्न लाएर मासु पोलेर हामी तिनजना छोरीहरूलाई अघाउन्जेल खान दिई बाँकी रहेको मासु घरभित्र लानु हुन्थ्यो । आमाले त्यसलाई झोलमासु, कवाफ, भुटुन थरी थरीका परिकार बनाएर पनि सुकुटीसमेत बनाएर सुकाउनु हुन्थ्यो ।
खसी नहुनेको घरमा भेंडा, हाँस, कुखुरा जे छ त्यही काटेर मासु पकाई परिवारलाई ख्वाउँथे । कसैका घरमा त्यैपनि नभएर मासुनै पकाउँदैन थे । मेरो खेल्ने साथी एउटी माझीकी छोरी थिई । उसको नाम तिते काली थियो । तितेकालीका घरमा धेरैजना भङ्टयाङ् भुन्टुङ् भाइबहिनीहरू थिए । बाआमा दुई जनाको ज्यालाबोनीको कमाइले पेटभरि खान पुग्दैनथ्यो । मलाई उनीहरूको धेरै माया लाग्थ्यो । अनि आमाको आँखा छलेर आफूले लगाइराखेको जामामा मासु राखेर पुर्याउन जान्थे । मासु घटेको थाहा पाएर आमाले बिरालोलाई दोष दिएर रिसले मुर्मुरिँदै भन्न्ुाहुन्थ्यो । ‘आज बिरालोले मासु भुसुक्कै पारेछ । त्यसलाई भेट्टाएँ भने ढाड भाँचिने गरी लठ्ठीले हिर्काउँछु ।’ म चुप लागेर सुनिरन्थेँ । मनमनै हाँसो उठ्थ्यो, डर पनि लाग्थ्यो ।
जमरा राखको नवौं दिनलाई नवमी भन्दथे । नवमीको दिन नवदुर्गाको पूजा गरिन्थ्यो । बुबाले मलाई आफूले पढ्ने लेख्ने गरेको किताब कलमलाई पनि पूजा गर भन्नुहुन्थ्यो ।
घटस्थापनाको दशौं दिनलाई दशमी भनिन्थ्यो । दशमीका दिन दुर्गा पूजा विसर्जन गरी जमरा झिकिन्थ्यो । नौ दिनअगाडि बालुवामा रोपिएका जौ, मकै, उम्रिएर लामा लामा र पहेँला भइसकेका हुन्थे । तिनै जमरालाई निकालेर घरका मुली भनौ बुबाआमाले मलाई टीका लाएर तिम्रो जीवनमा उन्नति प्रगति होस्, सुख, शान्ति मिलोस्, शत्रुमाथि विजय प्राप्त होस्, धेरै पढेर ठूलो मान्छे बने, तिम्रो भविष्य उज्ज्वल होस् भनेर मनभरिको आशीर्वाद र दक्षिणा दिनुहुन्थ्यो । अघिपछि श्राद्ध तिथि, सङ्क्रान्तिमा मलाई पहिला टीका लाइदिने गरेकोमा दशैंको टीका जेठोबाट सुरु गर्ने भनेर ठूली दिदीलाई लाइदिँदा म रिसाउँथे र मलाई लाइदिनु भन्दै माइली दिदीको पालो मिच्न खोज्थेँं ।
हामी आफ्नो घरमा मात्रै होइन छिमेकीहरूको घरमा पनि टीका लाउन जान्थ्यौँ. । मामाघर त झन् नजाने कुरै भएन । दक्षिणामा कसैले बिचमा प््वाल परेको गोलो पित्तलको चारपैसा दिनुहुन्थ्यो । त्यसलाई घ्वाइँ पैसा भन्थ्यौँे । कसैले तामाको पाँचपैसे ढ्याक दिनुहुन्थ्यो । कसैले एकसुका (२५पैसा) दिनुहुन्थ्यो । त्यतीबेला एकसुका भनेको धेरै ठूलो पैसा हुन्थ्यो हाम्रो लागि । पैसा खर्च गर्ने ठाउँ थिएन । अहिलेको जस्तो क्याडवरी, चकलेट, चाउचाउ, चिजबल, मःमः जस्ता तयारी खानेकुरा किन्न पाइँदैन थे ऊबेला । नरिवल मिश्री मात्रै पाइन्थ्यो । नरिवललाई स्थानिय भाषामा गडी भनिथ्यो । दुईपैसाको गडी मिश्री खाएरै सकिन्नथ्यो ।
दशैंमा टीकालाउँदा छोरी चेलीलाई मात्र दक्षिणा दिने छोरा, नातिलाई नदिने चलन थियो । त्यसैले सँगै टीका लाएका साना भाइहरू आप्mनो हात खाली मेरो हातमा पैसा देखेर मलाई टुलुटुलु हेर्थे । उनीहरूको माया लाग्थ्यो अनि लौ लिऊ भनेर मेरो पैसा दिन्थें । उनीहरू खुसी हुँदै हातमा पैसा लिएर बुर्कुसी मार्दै दौडिन्थे, गडीमिश्री किन्न ।
दशैं हाम्रो ठूलो चाड । वर्षको एकचोटी आउने । हुन त बाह्र महिनामा कुनै न कुनै पर्व आइरन्छ । जस्तै सिठी नख, हरिसयनी एकादशी, साउने सङ्क्m्रान्ति, तीज, तिहार, ठूली एकादशी, छठ पर्व, क्m्रिसमस, माघे सङ्क्m्रान्ति, उधौली उभौली, लोह्सार, इदसहित अरू पर्व पनि छन् । तापनि दशैंलाई नै विशेष मान्नुको कारण के होला त ? भन्ने मेरो मनमा लाग्यो र ! खोजी गर्दै जाँदा दशैं धेरै पुरानो र हिन्दू धर्मसँग जोडिएको कुरा पुराणमा लेखिएको पाइयो । सत्य युगमा राक्षसहरूले, ऋषिमुनि र देवताहरूलाई धेरै दुख दिएका रैछन् । देवीहरूलाई जिस्क्याउने, अपमान गर्ने जस्ता पाप कर्म गरेका रैछन् । त्यसकारण शक्तिरूपा भवानीले महाकालीको रूप धारणा गरी मैसासुर जस्तो बलमान् (राक्षस गुण्डाका नाइके) जस्ता असुर लिडरलाई मृत्यु दण्ड दिनु भएको रहेछ । सोही दिनलाई विजया दशमी मान्ने गरेको हो भनी लेखिएको पाइन्छ ।
अर्को कुरा त्रेता युगमा अयोध्याका राजा दसरथका जेष्ठ सुपुत्र राम वनबासमा छँदा उहाँकी धर्मपत्नी सीतालाई रावणले अपहरण गरेर लङ्का लगेको थियो । रामले सीतालाई फर्काउन खोज्दा राम र रावणको भीषण युद्ध भयो । रावण शक्तिशाली भएकोले धेरैदिनसम्म लडाइँ गर्दा पनि उसलाई जित्न सक्नुभएन । त्यसपछि रामले समुन्द्रको किनारमा बसी नौदिनसम्म देवी दुर्गा भवानीलाई आह्वान गरी पूजा अर्चना गर्नुभयो । दशौं दिनमा दुर्गा भवानीबाट शक्ति प्राप्त गरेपछि रावणलाई जित्न सफल हुभएकोले सोही दिनलाई विजया दशमी भनेर हर्सोल्लासकासाथ मनाउने परम्परा चलिआएको पनि भनिन्छ । यीनेै दुई आधारलाई साक्षी मानेर विजया दशमीलाई असत्यमाथि सत्यको विजयभएको पर्वको रूपमा मानिआएको पाइन्छ ।
म सानी छँदा भनौ आज भन्दा ६० वर्ष पहिले प्रविधिको विकास भएको थिएन । रेडियो सुन्न टी.भी. हेर्न पाइन्नथ्यो । टेलीफोन, मोवाइलजस्ता सन्चारका साधन थिएनन् । अहिलेको जस्तो फराकिलो मोटरेवल पिच सडक बनेको थिएन । मोटर चढ्न पाउने कुरै भएन । केटाकेटी खेल्ने खेलौना पसलमा किन्न पाइँदैनथे । हामी कपर्दी खेल्थ्यौं, भेट्टाई, लुकामारी खेल्थ्यौँ । ढुङ्गाको ससाना टुक्m्राहरू उफारेर गट्टी खेल्न्थ्यैंो । रुखका सुकेका हाँगा काटेर डण्डीबियो बनाई खेल्दा खुब मजा हुन्थ्यो तर दुईतिर तिखारेर चुच्चो पारिएको बियो डण्डीले हिर्काउँदा उफ्रीएर कहिले काँही साथीको निधारमा लागेर रग्ताम्मे बनाउँथ्यो । त्यतीखेर भने साह्रै दुःख पनि लाग्थ्यो ।
अहिले जस्तो खुटमा लाउने जुत्ता थिएन । हिँड्दा काँडा बिज्थ्यो, ढुङ्गाले बिझाउँथ्यो पनि । खाली खुट्टाले हिँड्थ्यौं । शरीरमा लाउने लुगा पनि अहिलेको जस्तो रङ्गीचङ्गी विभिन्न साइजका रेडिमेड पाइन्नथ्यो । सुचिकारले जिउ नापेर लुगा सिलाउँथे । वर्षको एकपटक् दशैँमा मात्र सिलाइने हुँदा दशैँ कहिले आउला र नयाँ लुगा लाउन पाइएला भनेर औलाभाँच्दै दशैँ आउने दिन गनेर बस्थ्यौँं हामी । त्यही लुगा पनि आमाले ‘केटाकेटी बढ्छन्, लुगा बढ्दैन । अलि ठूलो सिलाईदिनु भन्नुहुन्थ्यो’ त्यसैले सुचिकारले अलि ठूलो सिलाईदिन्थे । सानी हुन्जेल फिटिङ् लुगा लाउन पाइँदैनथ्यो अनि दाइदिदी जस्तै कहिले ठूलो हुन पाइएला र जिउमा मिलेको लुगा लाउन पाइएला भन्ने रहर लाग्थ्यो मलाई ।
अहिले जस्तो बोराको चामल, पाकेटको तेल, दुध किन्न पाइँर्दैनथ्यो । आफ्नै घरमा हुन्थ्यो सबै चिज । खाद्यान्नमा आत्मनिर्भर थियो गाउँ । पानी माग्दा मोही खाउँ भनेर दिन्थे । फलफूल जसका बारीमा फलेको भएपनि टिपेर खाँदा गाली गर्दैैनथे । दशैं आउनु अगाडि नै । धान उसिनेर चिउरा कु्ट्थे । मासुको लागि आफ्नै घरमा कुखुरा, हाँस, खसिबोका पालिएको हुन्थ्यो । कसैको घरमा छैन भने हुनेले नहुनेलाई दिने गर्थे । छिमेकमा ऐँचोपैँचो चल्दथ्यो । त्यसकारण कुनै कुराको अभाव हुँदैनथ्यो । सबैजना मिलीजुलीि रमाइलो गरी दशैं मनाइन्थ्यो ।
दशैँ आउँदा मानिस मात्र होइन प्रकृति पनि उत्तिकै रमाएकी हुन्थिन् । डाँडा पाखा जताहेर्यो त्यतै हरियाली देख्न पाइने । बारीका काँल्ला, आँगनका डिलमा ढकमक्क सयपत्री, मखमली फुलिरहने जसको सौन्दर्य र आनन्द बयान गरेरै सकिँदैन ।
दशैं आएको खुसियालीमा हामी केटाकेटीहरू एउटै आँगनमा जम्मा हुन्थ्यौं र गोलो घेरा बनाई उभिन्थ्यौं । त्यसपछि एकजनाले आफ्नो हातको कान्छी औंला समातेर ठूलो स्वरमा दशैं आयो भन्थ्यों । बाँकी अरू साथीहरूले एकैसाथ आआफ्नो कान्छी औंला समातेर चर्को स्वरमा दशैं आयो भन्थ्यांैं । उसले काँहिली औला समातेर खाउँला पिउँला भन्थ्यो । हामीे पनि काँहिली औंला समातेर खाउँलापिउँला भन्थ्योंैं । साइँली औँला समातेर उसले कहाँ पाउँला ? भन्थ्यो । हामी नि त्यसै भन्थ्यौँ । उसले माइली औंला समातेर आफै जवाफ दिदै भन्थ्यो, चोरी ल्याउँला । त्यो सुनेर बूढी औंला देखाएर सबैजनाले एकसाथ भन्थ्यौं, धत्त पापी छुट्टै बसौंला ! त्यसपछि सबैजना हाहाहा…गरी हाँस्थ्यौं । उबेलाको दशैंको रौनकै छुट्टै हुन्थ्यो । दशैंले हामी केटाकेटीहरूमा एकप्रकारको उत्साह, उमङ्ग, नयाँ उर्जा थपिएको महसुस हुन्थ्यों ।
अहिले जमाना भौतिकवादी हँुदै गएको छ । पैसा नै सबथोक हो भन्छन् । कसैले कसैको मतलब गर्दैनन् । आफू रमाउन पाए पुग्यो । त्यसको प्रभाव केटाकेटीहरूमा पनि परेको देखिन्छ । उनीहरू आफूभन्दा ठूला मान्छेको कुरा सुन्न चाँहँदैनन् । धेरैजसो एक्लै बस्न रुचाउँछन् । मोबाइलमै बढी रमाउँछन् र झुम्मिन्छन् पनि । त्यसले गर्दा केटाकेटीहरू पहिला जस्तो उफ्र्रिने, कुद्ने खेल्ने, गरेको कम देखिन्छ । कुन पर्वमा कसरी रमाइलो गर्ने भनेर चासो पनि राख्दैनन् । मोबाइल नै सबथोक हो भनेजस्तो गर्छन् । त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्ने गरेको छ । अहिलेका केटाकेटीहरूको स्वास्थमा तन्दुरुस्ती पनको कमी छ । शरीरको तौल बढ्ने, आँखा कमजोर भई सानै उमेरमा चस्मा लाउनु पर्ने समस्या पाइएको छ । त्यति मात्र नभई मानसिक रोगले सिकार भएको पनि भेटिन्छ । त्यसकारण दशैं आउँदा हामी जस्तो अहिलेका केटाकेटीहरू खासै उत्साहित भएको पाइँदैन ।
कपन, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: