कविता

दशैँ, कामका योजना र व्यथा

१७ आश्विन २०८२
डा.अम्बिका अर्याल

व्यथा अनेक छन् दशैँका
कथा आफ्नै छन् दशैँका
तब त दशैँ एक, व्यथा अनेक
ऊ ठान्छ मलाई नै कुरेर
कति बनाउँछ मान्छे योजना ?
कति राख्छ कामका भाका ?

दशैँ बिदा पनि झर्किँदो हो
थाती कामका लाम देखेर
अत्यास मान्दो हो योजनाले
चाडबाड कुर्ने बानी देखेर ।

यो गर्नुछ त्यो गर्नुछ वर्षदिन थन्किएका
कामका फेहरिस्त एकातिर
चिटिक्क चम्किलो
घरआँगनको धुन अर्कातिर
केटाकेटीका नानाका माग एकातिर
घरेलु तानाबाना अर्कातिर
वर्षदिनका रिनका भाका यही बेला
तामझामले निम्त्याएको नाका यही बेला ।

न हाँस्न सक्छ रहर
न नाच्न सक्छ थकान
न हाँस्नु न रुनु कसैलाई यो चाड
न उडुँ न बुँडुँ कसैलाई यही चाड
हुने मस्त
नहुने ध्वस्त
सक्ने नाच्दै रमाउने
नसक्ने उभिन कहाँ समाउने ?

कतै होडबाजीमा कामले
लस्करमा अगिपछि राखिएकै धुनमा
मर्यादा खोज्दै प्राथमिकता रोज्दै
आन्दोलन चर्काएपछि
बबुरो योजनाकार
के खिच्दो हो लक्ष्य
कामकै क्रान्ति मिलाउने ध्याउन्नमा
उल्टै बित्दो हो बिदा दशैँको ।

तब त !
कसलाई के था
योजनाका भारले
थिचिएका मान्छेभन्दा
कम छैनन् दशैँका व्यथा !

पासिकोट, बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: