लघुकथा

जिउँदो भगवान्‌

१७ आश्विन २०८२
ललिता दोषी

‘चबैको घलमा कची ल्याइचके । हाम्लो घलमा कहिले कची ल्याउने ? मलाई पनि कची चाइयो ।’ भन्दै विनम्र रुन थाले ।
पाँच वर्षीय छोराको तोते बोलीले श्रीधरलाई मुटुमै बाण लागेझैँ भयो । ‘बाबूलाई मासु ल्याइदिन्छु’ भनेर श्रीधर घरबाट निस्के ।
‘होइन किन नबोली हिँडेको भाइ ? कतै आँखाले भेउ पाउन पनि छोड्यो कि क्या हो ? मैले त कुनै दोष गरेझैँ लाग्थेन ।’
श्रीधर पछडि फर्किंदै बोले– ‘ओहो ! रतन दाइ पो, माफ गर्नुहोस् दाइ, याद नै गरिनँ । दिमागले भेउ पाउन छोडेपछि आँखाले पनि काम नगर्दोरहेछ । हामी गरिबलाई पलपल मार्नका लागि पापी चाड पनि किन आउँदो हो कुन्नि !’
रतन बोले– ‘सुन्न त सुनेकै हुँ, कम्पनी डुब्यो भनेर कतारीले तिम्रो दुई वर्षको तलब नदिई पठाएको कुरा । कतारबाट ल्याएको केही पैसा पनि ऋण तिर्दैमा सिद्धिएको कुरा ।’
श्रीधरले हो भनेर मुन्टो हल्लाए । रतनले हाँस्दै भने– ‘तिमी धन नभएर रन्थनियौ । म भएको धन जिम्मा लगाउने राम्रो मान्छे नपाएर रन्थनिएको थिएँ । हामी दुवैको चिन्ता फुमन्तर हुने भयो । घर र खुद्रा पसल तिमीले नै जिम्मा लेऊ । छोराको बच्चा हुँदै छ । तेल भिसामा हामी अमेरिका जाँदै छौँ । के गर्नु एउटै भएको छोराको कुरा टार्न सकिएन ।’
खुसीको आँसु झार्दै बोले श्रीधर– ‘हवस्, म हजुरको विश्वासमा आँच आउन दिने छैन । यो पनि दुर्गा माताकै कृपा वर्षेको हो दाइ ! ढुङ्गा खोज्दा हजुरजस्तो जिउँदो भगवान् नै भेटेँ ।’

बुद्धनगर, काठमाडौँ। 

प्रतिक्रिया दिनुहोस्: