गाउँभरि काटाकाट छ । हरेक घरको आँगनमा एउटा लास ढलेको छ । हातमा नाङ्गो खुकुरी नचाउँदै ऊ हाम्रो घरतिर उक्लदै थियो ।
काले डरायो, ‘आमा मलाई बचाउनुस्, अब उसले मलाई पनि सिध्याउने छ ।’
आमा नीरिह भएर आँखाबाट अश्रुधारा बगाउँदै छोरालाई एकोहोरो हेरीमात्र रहिन् ।
आँगनमा खुकुरी देखाउँदै बले बोल्यो, ‘खै कता छ ? पानी पनि उम्लेको छैन कि क्याहो कृष्ण दाइ ?’
कृष्णले भने, ‘तयारी भैसक्यो भाइ, पानी उम्लने मात्र होइन, उम्लेर नि जिम्लिइसक्यो’ भन्दै आँगनमा बाँधेको खसी तिर लम्के । उसकी आमा कालेलाई चाट्तै थिई, काले बलिन्द्रधारा आँशु बगाउँदै थियो ।
यत्तिकैमा छोरी चिच्चाइन् ‘बुबा ! कालेलाई किन काट्नु पर्यो । नकाटौँ यसलाई !’
बुबा छोरीमाथि खनिए, ‘मासु खान नि किन काट्ने भन्नु ! यत्रो ठूलो चाड दशैँमा काट्न परेन खसी ! बढी जान्ने हुँदिरहिछ ।’
आमाले पनि भित्रबाट छोरीकै बोली बोलिन्, ‘मैले पनि यसपटक खसी नकाटौँ खाने मान्छे कोही छैन, छोरा विदेशमा छ । छोरी खासै मासु खान्न, तीनजनाको परिवारबाई एक किलो मासु ल्याए दशैँ भैहाल्छ । बेकारमा घरै गन्हाउनेगरी बासी बनाएर मासु किन राख्नु पर्यो ? रोगको घर ! बरु दिनदिनै ताजा मासु खाउँला नि !’
कृष्णको परम्परा बोल्यो, ‘बाउबाजेका पालादेखि दशैँमा खसी ढाल्दै आएको रीति थाम्नु परेन ? फेरि जोरीपारीले एउटा खसी पनि काट्न नसक्ने भएछ भन्दैनन् !’
छोरीले अनुरोध गरिन, ‘बुबा पहिला पो संयुक्त परिवार हुन्थो । परिवारका सदस्य धेरै भएपछि दशैँमा एउटा सिङ्गै खसी चाहिन्थ्यो । अहिले मासु खाने मान्छे नै छैनन् त किन सिङ्गै खसी काट्नुपर्यो ? यस्ता कुरालाई रीतिसँग होइन आवश्यकतासँग जोड्नुपर्छ । हामीले दशैँको यस्ता अव्यवहारिक रीति थितिलाई सुधार गर्दै लानुपर्छ अनि मितव्ययी पनि हुनुपर्छ ।
कृष्णको घैटोमा घाम लाग्यो, ‘छोरी जोरीपारीले एउटा खसी पनि काट्न नसक्ने भएछ भन्ने हुन कि ?’
छोरीले सम्झाइन्, ‘भन्दैनन् ! कसैले पनि केही भन्दैनन् बुबा ! हामीले समाज परिवर्तन गर्ने हो भने सुरु आफैँबाट गर्नुपर्छ । अर्को सालदेखि उनीहरूले पनि हाम्रै सिको गर्छन् ! आखिर सबैका ‘घरघर मट्टीका चुला’ नै हुन् क्यारे ।’
कालेको मुहारमा घाम लाग्यो ।
बलेले खुकुरी दापभित्र घुसार्यो ।
पनौती–४, काभ्रे
हाल : कपन, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: