कविता

दशैँ

१७ आश्विन २०८२
गङ्गा खड्का

चिरिच्याट्ट कोरिबाटी गरिकन धरा
सौन्दर्यको मूल फुट्छ भई हराभरा ।
घुम्टो ओढी शरदले देखाउँछ रूप
दशैँ आई यही बेला खुसी बढ्छ खुब ।

स्वच्छ सफा परिवेश छैन हिलो मैलो
मुस्कुराई अरुणोदय पोत्न थाल्छ दैलो ।
चिरिबिरी च्यार्र गर्दै रमाउँछ चरी
दशैँ आयो भन्ने कुरा शङ्खघोष गरी ।

सयपत्री, गोदावरी हाँस्छन् बारीभरि
सुन बाला धान झुल्न थाल्छन् टारीभरि ।
आँप, केरा बगैँचामा पाक्छन् राम्रोसँग
दशैँ आयो भनी सबै पर्न थाल्छन् दङ्ग ।

खोलानाला घट्दै जान्छन् उस्तै राम्रो बाटो
चन्दन झैँ हर्हराई बास्ना छर्छ माटो ।
कतै पनि भेटिँदैन दुःख व्यथा पिर
परदेश गएका नि आउँछन् घरतिर ।

सबैतिर आनन्दको हुन थाल्छ राज
सम्बन्धमा कसी लाई एकअर्का माझ ।
देवी दुर्गा भवानीको गर्छन् पूजापाठ
शुभभाव बटुलेर भित्री मनबाट ।

पिङ खेल्छन् सररर चचहुइ भन्दै
कोही बस्छन् पिङ खेल्ने आफ्नो पालो गन्दै ।
उडाउन चङ्गा भनी हुने गर्छन् भेला
जहाँतहीँ आनन्द नै आनन्दको मेला ।

भेट्न गई मान्यजन लगाउँछन् टीका
परपर भएका नि बन्छन् एकै ढिक्का ।
जमराको मर्म छुट्टै दशैँ लागेपछि
मख्ख पर्छन् सबैजना जोस जागेपछि ।

मीठामीठा खानेकुरा बास्ना चल्छ मीठो
केटाकेटी भन्छन् दशैँ नजाओस् है छिटो ।
बिदा हुन्छ दशैँभर मनाउन पर्व
दशैँ आयो भन्दा पनि लाग्ने गर्छ गर्व ।

दशैँ माने अरूसँग मागी मागी ऋण
भविष्यमा आइदिन्छ अनि कालो दिन ।
त्यसैले त सद्भावले दशैँ मान्नुपर्छ
यति कुरा बेलैमा सबले जान्नुपर्छ ।

बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: