कविता

दशैँ

२० आश्विन २०८२
जगदीश्वर पोखरेल

हिमशिखर अहा सफा राम्रा ।
झलल नगर गाउँ छन् हाम्रा ॥
वन उपवन छन् कली फुल्छन् ॥
भ्रमर र पुतली सधैँ डुल्छन् ॥१

उधुम हरित छन् धरा राम्री ।
अतिशय जननी खुशी हाम्री ॥
कमल कुसुल पोखरी हंस ।
विचरण जलमा गरे वंश ॥२

कलकल सरिता गरेका छन् ।
झरझर झरना झरेका छन् ॥
हिमगिरि अचला रमेका छन् ।
दिनमणि जगती घुमेका छन् ॥३

हृदय घट सफा छ पाखाको ।
टलटल शिरपोस ढाकाको ॥
चहचह पिङमा सबै जम्छन् ।
जनम थल घुमी युवा रम्छन् ॥४

युवक र युवती खुलेका छन् ।
घरघर जमरा फुलेका छन् ॥
रनवन हरियो फुल्यो गायो ।
सकल घर फिरे दशैँ आयो ॥५

छन्द : कुपुरुषजनिता – ननर गुगु, ७ मा विश्राम ।
पाउँदीबजार, लमजुङ
सम्प्रति : विष्णुदेवी आवास, सतुङ्गल, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: