असत्यमाथि सत्यले विजय गर्ने
प्राचीनकालदेखि मनाउँदै
आएको ऐतिहासिक पर्व हो ।
पारिवारिक एकतालाई
आत्मीय डोरीले कसेर
आध्यात्मिक संस्कृति
जीवनको उज्यालो खोज्दैं
संसारको कुनाकाप्चामा
पुगेका परिवारका सदस्यहरूको
मिलन गराउने अवसर दिने
सहज माध्यम हो दशैं !
समयको गतिसँगै निरासा पन्छाएर
मिरमिरे पछ्याउँदै
हाम्रो समाजमा
बड्दो वैदेसिक मोह
बेरोजगारीले अस्तव्यस्त समाज
देशभित्रै पनि स्थानान्तरणको बड्दो गति
मानव मस्तिष्कलाई मन्त्रमुग्ध पार्ने
प्राकृतिक सौंन्दर्य,
लहलह गर्दै झुल्ने बालीनाली
मगमग बास्ना छर्दै आफ्नो
मनमोहक सौन्दर्य छर्ने पुष्पहरू
चराचुरुङ्गीका कर्णप्रीय आवाज
घरपालुवा जनावरहरूले
दिने आर्थिक स्रोत
स्वाभाविक रूपमा अडिँदै
आइरहेको अवस्था यो
शासकले जीवनप्रति गरेको उपेक्षा
सहज रूपमा बहन गर्न नसक्नू
धनी र गरिबबिचको पर्खाल चुलिँदै जानू
महँगीले प्रतिदिन पिटिरहनु
कस्तो समयमा आउँछ यो दशैं
आमदानीको स्रोत कम हुनुले
दशैँ, दशैँ नभएर दशा हुने गरी हुत्त आउँछ
र आजको अवस्था सिर्जना हुन्छ ।
यो के स्वाभाविक छ ?
तर
नेपाली मन त्यति कमजोर छैन
प्रतिकूल अवस्थामा पनि
आफ्नो संस्कार, संस्कृतिलाई
सतीसालझैं जीवन्त राख्न पछि पर्दैन
मानवीय संवेदना सुमुसुम्याउँदै
आफ्नो परम्परालाई जीवन्त राख्न
जीवन्त संस्कृति निरन्तर रहन्छ ।
संसारकै उच्च संस्कार, संस्कृति रहेको
दशैं जस्तो ऐतिहासिक पर्वले
जिउँदो आत्मीय भावलाई
सदैव ताजा बनाइरहन्छ ।
टोखा–४, धापासी, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: