कविता

तिहार : भ्रातृत्व प्यार

३ कार्तिक २०८२
उत्तम विचार भेटुवाल

दशैँ बिदा भयो डाकी तिहार शीघ्र आउँछ
जो अन्धकारमा ज्योति बनेर जग्मगाउँछ ।१।
तिहार हार मान्दैन जीतको गीत गाउँछ
भ्रातृत्व, भाइचाराको नारा सदैव लाउँछ ।२।

खेलेर देउसी भैलो दैलोदैलो चहार्छ ऊ
दीपावली गरी साँझ यत्रतत्र सिँगार्छ ऊ ।३।
तिहार हार गाँसेर गला चट्ट सजाउँछ
दिदी र भाइमा स्नेह दुबोझैँ लहराउँछ ।४।

दिनेछ सूचना भन्दै कौवा पुजिन्छ प्रेमले
गर्छन् कुकुरले रक्षा द्वारको हर यत्नले ।५।
पूजा गरिन्छ गाईको अपार महिमा छ जो
तिहार गर्वको पर्व मानी मनाउँदा भयो ।६।

गोरुले खेत जोतेर किसान बिउ छर्दछ
फलाई अन्नका दाना भकारी टन्न भर्दछ ।७।
त्यसैले गोरुको पूजा गरिँदै छ तिहारमा
पशुपक्षी सँगै मान्छे राखी समान हारमा ।८।

विदेश रहने भाइ दिदी सम्झेर आउँछ
नआए सम्झना भन्दै चिट्ठीपत्र पठाउँछ ।९।
छेकेर तेलको धारा सप्तरङ्गी निधारमा
लगाई प्रेम पस्किन्छन् दुबैले उपहारमा ।८।
छन्द : अनुष्टुप् ।
लिखु–६, थानसिङ, नुवाकोट
हाल : टोखा–१०, गोँगबुँ,काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: