सङ्घर्षको मैदानमा लड्दालड्दै जङ
भुलाउँदै दुःख जति फेरिदिँदै रङ ।
आइपुग्छ तिहार नि खुसीयाली छर्दै
हर्ष खुसी भित्राएर आफ्नै राज गर्दै ।१।
बोकी आई पाँच दिन पाँचै थरी रङ्ग
बनाएर सबैलाई भित्रैदेखि दङ्ग ।
घरघर उल्लासको छरिदिन्छ राग
फूलहरू फक्रिएर दिव्य बन्छ बाग ।२।
पूजा गरी जनावर खुसी पार्ने रीत
कति राम्रो परम्परा मुटु जोड्ने प्रीत ।
काग, गाई, गोरु साथै कुकुरको मन
रमाउँछ सबैबाट पाई आफ्नोपन ।३।
बास्ना चल्छ हररर सेलरोटी पाकी
सबैतिर आनन्दको परिवेश डाकी ।
भट्याउँदै भैलेहरू खेल्दैखेल्दै भैलो
हटाउँदै दुःख पीर हृदयको मैलो ।४।
कोही चाहिँ भट्याउँदै देउसीको गीत
नाचीगाई मख्ख पर्छन् साथीभाइसित ।
झिलीमिली बत्ती बल्छ अन्धकार चिर्दै
लक्ष्मीले नि बास गर्छिन् घर घर छिर्दै ।५।
परदेश गएका नि आउँछन् घर देश
सम्झिएर परम्परा आफ्नै प्यारो भेष ।
आए आफ्ना दाजुभाइ टीका थाप्न भनी
दिदीबैनी मख्ख पर्छन् ती फुरुक्क बनी ।६।
मखमली माला अनि टीका सातथरी
लगाइदिँदै दीर्घायुको नै कामना गरी ।
दाजुभाइलाई दिन्छन् नरित्तिने माया
यमराजको नपरोस् है भन्दै कतै छाया ।७।
अरूभन्दा भिन्नै छ है तिहारको मैमा
नेपाली यो संस्कृति छ झलमल भैँमा ।
हुर्कँदै छ तिहारको गाथा सबैतिर
सद्भावले सबैको लौ उच्च बनोस् शिर ।८।
बूढानीलकण्ठ, काठमाडौं।

                                                                                                            
                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: