‘काँ काँ काँ काँ ।’ बिहानै घरसँगै रहेको अम्बाको बोटको हाँगामा बसेर काग करायो । रुखमुनि बसिरहेको काले जुरुक्क उठ्यो । आङ तनक्क तन्कायो । कागतिर हेरेर भुक्यो । शारदा पिँढीमा कुचो लगाउँदै थिइन् ।
कागको कराएको र कुकुर भुकेको आवाजले सानी छोरी आराधना जुरुक्क उठी । आँखा मिच्दै बाहिर निस्किई । त्यहाँ काग एक्लै थियो । ऊ घरतिर हेर्दै ‘काँ काँ काँ’ गरिरहेको थियो ।
शारदा कुचो राखेर कागतिर हेरिन् र भन्न थालिन् ‘ए काग ! तिमीहरू यता आउन छोडेका थियौ त ? आज फेरि सम्झेर आएछौ । खै तिम्रा साथीहरू ? जाऊ साथीहरूलाई पनि बोलाएर ल्याऊ । म मिठो खानेकुरा दिउँला ।’
शारदाको कुरा बुझेझैँ काग भुरर्र उड्यो । आराधनाले घरबाहिर वरिपरि हेरी । त्यहाँ एउटा पनि काग थिएन । ‘खोई त काग, आमाले कहाँ पठाइदिनुभा’को ?’
‘ए छोरी ! छिटै उठ्यौ नि ? आज काग तिहार हो । साथीहरू लिएर आऊ भनेको छु । लिएर आउला कि ?’
‘हाम्रो कुरा बुझ्छ र कागले ? हजुरले पनि उसले जस्तै काँ काँ गर्नुभा’को हो ?’ छोरीको कुराले शारदा हलल्ल हाँसिन् ‘आहा, कस्तो मिठो कुरा छोरीको !’
‘हाम्रो भाषा त नबुझ्लान्, तर भाव वा कुरा बुझ्छन् । कागहरू धेरै चलाख हुन्छन् ।’
आमा र छोरी कुरा गर्दागर्दै त्यहाँ सात आठवटा काग आए । त्यही अम्बाको रुखमा बसे । सल्लाह गरेझैँ चुपचाप बसे । सबैले शारदालाई हेरिरहे ।
आरधनाले चाहिँ कागहरूलाई हेरिरही ।
‘आज तिहारको पहिलो दिन हो, हगि आमा ? आज काग तिहार हो । स्कुलमा मिसले भन्नुभा’को ।’
‘हो नानु । तिमीले कस्तो राम्रो कुरा गर्यौ !’
‘कागले कसरी तिहार मनाउँछ ? उनीहरू देउसी र भैली पनि खेल्छन्, हो आमा ?’
सानी छोरीको कुरा सुनेर शारदा मुसुमुसु हाँस्दै भित्र पसिन् । एकैछिनमा नाङलोभरि मीठामीठा रोटी, दही, चिउरा लिएर निस्किइन् ।
‘कागलाई टीका लगाउन पर्दैन आमा ?’
‘यी, यहाँ फूल अक्षता छ, उनीहरू आफै लगाऊँन् ।’
‘म लगाइदिन्छु नि, ल ?’
‘उनीहरू हाम्रो नजिक आउन मान्दैनन् नि सानू ।’
‘म बोलाउँछु नि । आऊ काग यहाँ आऊ । म तिमीहरू सबैलाई रातो टीका लगाइदिन्छु । मिठो खानेकुरा पनि खान दिउँला । आऊ, छिटो आऊ ।’
शारदाले घरको पूर्वपट्टि रहेको भान्साघरको छानामा खानेकुरा राखी दिइन् । त्यति बेलासम्म त्यहाँ धेरै काग जम्मा भइसकेका थिए । उनीहरूले खानेकुरा टप्प टप्प टिपे । अलि पर गएर खान थाले ।
त्यही छानामुनि काले नामको कुकुर र्याल चुहाउँदै हेरिरहेको थियो । ऊ भन्दै थियो होला, ‘ए काग भाइबहिनी ! भोलि मेरो तिहार हो । आज मलाई खानकुरा देऊ । म पनि भोलि तिमीहरूलाई दिन्छु नि ।’
उसले पुच्छर हल्लायो । आवाज पनि अघिभन्दा फरक निकाल्यो । कागहरूले उसको कुरा मानेझैँ गरी खानेकुरा खसाले । कालेले खसेका खानेकुरा क्वाप्प खायो । फेरि पुच्छर हल्लाउँदै कागलाई हेर्यो । कागहरूले पनि खानेकुरा नसकुन्जेल खसालिरहे ।
आराधना दङ्ग परेर हेरिरहेकी थिई । कागले कुकुरलाई खानेकुरा दिएको उसले कहिल्यै देखेकी थिइन । सुनेकी पनि थिइन । ऊ खानेकुरामा असाध्यै लोभी थिई । आफ्नो खानेकुरा अरू कसैलाई दिन्नथी । त्यसैले पनि उसलाई यो कुरा अनौठो लाग्यो । शारदाले पनि त्यहाँ भएका सबै कुरा ध्यान दिएर हेरिन् ।
आरधना एकैछिनमा दौडिँदै आमाको हात समात्न पुगी र लाडिँदै भनी ‘आमा, आमा ! स्कुल जाँदा मलाई खाजा अलि धेरै दिनु ल ?’
‘किन छोरी ?’ शारदाले मनको खुल्दुली पोखिन् ।
‘म तिहारपछि स्कुल जान्छु । साथीहरूलाई खाजा बाँड्छु । सँगै बसेर खान्छु नि, है आमा ? हामो कक्षामा दुईजना साथीसँग कहिले पनि खाजा हुँदैन । उनीहरूलाई कति भोक लाग्छ होला हगि आमा ?’ आराधनाले पनि मनको कुरा खोली ।
शारदाले छोरीलाई हेरिन् । पिठ्युँमा ढ्यापढ्याप धाप मारिन् । ‘हुन्छ, नानु । छुट्टाछुट्टै बट्टामा पठाउँछु । बाँडेर खानू है ?’
आराधना खुसीले फुरुङ्ग भई ‘आहा, कस्तो मज्जा !’
ऊ नाच्दै फूलबारीमा गई । त्यहाँ सयपत्री, गोदावरी र मखमली फूल ढकमक्क फुलेका थिए । शारदा पनि सानो डाली लिएर त्यहीँ पुगिन् । ‘भोलि कालेको तिहार हो, छोरी । उसलाई माला लगाइदिनुपर्छ । मन पर्ने खानेकुरा खुवाउनुपर्छ ।’
‘आमा ! आज फूल टिप्न हुन्छ ?’
‘हुन्छ, छोरी । फुलिसकेको छानी छानी टिप्नुपर्छ ।’
‘फूलको माला म उन्छु नि, है ?’
छोरीको कुरा सुनेर शारदा दङ्ग परिन् ।
मार्पाक, धादिङ
हाल : मनमैजु, काठमाडौं। 
Email : devraj.simkhada2@gmail.com

                                                                                                            
                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: