दशैंपछि ठूलो पर्व हाम्रो दीपावली ।
मान्छौं हामी झिलीमिली दियो बत्ती बाली ॥
पाँच दिन चल्ने तिहारलाई भन्छन् यम पञ्चक ।
तिहार पर्व मान्दा हामी हुन्छौँ रोमाञ्चक ॥
लक्ष्मी पूजा गर्छौं हामी मानी धनकी देवी ।
यही दिन जन्मेका थिए हाम्रा महाकवि ॥
सबै घरको सफाई र सिँगार गर्दछन् ।
साँझपख झिलीमिली बत्ती बाल्दछन् ॥
तिहारमै नेवार जाति म्हपूजा नि मान्छन् ।
शरीरलाई शुद्ध राखी आत्म पूजा गर्छन् ॥
तिहारमै नयाँ वर्ष लाग्छ नेपाल संवत् ।
खुशीपूर्वक मनाउन हुन्छन् सबै जमघट ॥
तिहारको अन्तिम दिन भाइटीका मान्छन् ।
दिदीबहिनी दाजुभाइलाई टीका लगाइदिन्छन् ॥
सप्तरङ्गी टीका लगाई भरिदिन्छन् निधार ।
दाजुभाइले श्रद्धापूर्वक दिन्छन् उपहार ॥
दाजुभाइ दिदीबहिनी नहुनेका खातिर ।
रानी पोखरीमा खुल्छ बाल गोपाल मन्दिर ॥
तिहारमा पूजा गर्छौं कुकुर, गाई, काग ।
जीवजन्तुप्रति हामी राख्छौं प्रेम भाव ॥
तिहारमा सबैजना खेल्छन् देउसी–भैलो ।
एक आपसमा खुशी बाँड्दै गर्छन् रमाइलो ॥
रमाइलो कै नाममा कति खेल्छन् जुवा तास ।
पछुतोमा पर्छन्पछि पारी धनको नास ॥
तिहारमा मनाउँछन् सबै खुशीयाली ।
शरद्ऋतुमा बोटबिरुवा नि बन्छन् हरियाली ॥
सबै नाच्छन् गाउँछन् अनि खान्छन् सेलरोटी ।
यसैगरी तिहार मान्छन् सालमा एकचोटि ॥
सबै भन्छन् खुशी हुँंदै आयो तिहार ।
किनमेल गर्न पुग्छन् कति असन बजार ॥
गट्ठाघर–२, भक्तपुर। 

                                                                                                            
                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: