लघुकथा

मौका

५ कार्तिक २०८२
रामकुमार पण्डित

राष्ट्रिय सभागृहमा राजनैतिक बैठक सकियो । उनले भनिन्‌ः “कता जानुहुन्छ माननीयज्यू, ? मलाई नाचघरसम्म पुर्‍याइदिनु न !” उनको मुहारमा पुलुक्क हेर्दै उसले भन्योः “के छ र नाचघरमा ?”
“आज गजलको कार्यक्रम छ । हजुर जानुहुन्न ?”
“म जान्न तर पुर्‍याइदिन्छु ।”
उसले मोटरसाइकल स्टार्ट गर्‍यो । उनी पछाडि बसिन् । सडकभरि धिमा गतिमा धेरै गाडीहरू गुडिरहेका थिए । भद्रकाली मन्दिरनिर झ्याप्प ब्रेक लाउनुपर्ने अवस्था आयो । यसो गर्दा उनका ठूला स्तनले उसको ढाडमा स्पर्श गर्‍यो । उसले अचानक भएकोले सामान्य ठान्यो । मोटरसाइकल महाँकालस्थानमा पुगेपछि उनले नजानिदो पारामा उसको ढाडमाथि स्तन राखिन् । उसभित्र रोमाञ्चक सञ्चार बहन थाल्यो । राष्ट्रिय नाचघर अगाडि रोकेर उसले भन्योः “हामी लङटुर जाउँन एकदिन !” खुसी हुँदै उनले भनिन्‌ः “भइहाल्छ नि हजुर ! एकदिन धुलिखेल जाउँला !” मोटरसाइकलबाट ओर्लिएर उनी नाचघरभित्र लागिन् । ऊ आफ्‌नै बाटो लाग्यो ।
सभागृहको बैठकमा फेरि भेट भयो उनीहरूको । उनलाई हेर्दै अस्तिको घटना संंझियो । रोमाञ्चित हुनहुन लागेको थियो उनी फिस्स हाँस्दा किरा लागेको बङ्गारा देखेर घिनायो । उसको आँखा भुइँमा पर्‍यो । भुइँमाथि उनको नाङ्गो खुट्टा गोह्रो देख्यो । त्यसलाई मनपरायो । घिनलागेको मानसिकता त्यसैमा साट्यो । बैठक सकियो । उनले बसपार्कमा लगिदिन आग्रह गरिन् । उसले पूरा गरिदियो । उनले सानातिना समस्या सुनाउन थालिन् मेसेन्जरबाट । उसले सकेको जति समाधान गरिदियो ।
एक रात मेसेन्जरमा कुरा हुँदैगर्दा उसले भन्योः “नरिसाउने भए एउटा कुरा भन्छु ।” उनले जवाफ दिइनन् । भोलिपल्ट बिहानै भनिन्‌ः “के हो भन्नु न ।” उसले भन्यो “म व्यस्त छु ।” उनले कर गर्दै भनिन्‌ः “आज धुलिखेल जानुछ एक्लै । भन्नु न !” उसले वास्ता गरेन ।
अर्को दिन फुर्सद भएपछि उनको आग्रहलाई सम्मान गर्दै मेसेन्जरमा लेख्योः “तपाईँको गोह्रो पाउ मलाई आकर्षक लाग्छ । साँच्चै हेरुँहेरुँ लाग्छ ।” यति पढ्नासाथ चड्किदै उनले लेखिन्‌ः
“तँलाई ! कसरी लेख्न सकिस् यस्तो ? सार्वजनिक गरिदिऊँ ? बैठकमा यो मेसेज देखाएर छलफल गराउँछु पख् !”

का.म.पा.–६, सिमलटार, काठमाडौ।

प्रतिक्रिया दिनुहोस्: