जनसाहित्य यात्रामा खतिवडाका एक दर्जन कविता

१७ कार्तिक २०८२

काठमाडौं, कार्तिक १५ गते शनिबार । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी उदयपुरकी सशक्त स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता सुनिएका छन् ।

नेपाली छन्द कविताका अभियन्ता प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो । सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घकी अध्यक्ष भूमिका सुब्बा विशिष्ट अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थयो । महासङ्घका महासचिव आर.सी.न्यौपाने र वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थयो । अतिथिहरूमा सङ्घका सल्लाहकार वासुदेव अधिकारी, डा.सिर्जना शर्मा, युद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईँ, खेमराज निरौला, नारायण निरासी, प्रभाती किरण, त्रिलोचन आचार्य, सोमनाथ दाहाललगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशीलता देखाइरहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा भवानी खतिवडालाई प्रस्तुत गरिएको छ, भन्नुभयो ।

कविनायक भवानी खतिवडाले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै हाम्रो यो प्राकृतिक भव्यता गर्वलायक लागेपछि हिमाल विषयमा कविता लेखेको, हाम्रो आस्था वा विचार बिरामी हुँदा, आदर्श स्खलित भइरहेको देख्दा मन दुखेपछि कविता लेखेको; कवि बन्नसक्दिन कि भन्ने लागेर पनि कविता लेखेको, देशलाई देशजस्तो बनाउन पाए हुन्थ्यो भन्ने लागेर पनि कविता लेखेको, नागरिक पलायन हुने र आधुनिकताका नाममा विकृति मौलाएको पीडा पनि कवितामा अभिव्यक्त गरेको छु, भन्नुहुँदै मन्दाक्रान्ता छन्दको ‘देश यो जुर्मुराओस्‌’ शीर्षकको, शार्दूलविक्रीडित छन्दको ‘राष्ट्रवन्दना’ शीर्षकको, अनुष्टुप् छन्दको ‘चेतनापुञ्ज’ शीर्षकको र मन्दाक्रान्ता छन्दको ‘देवकोटाको सम्झनामा’ शीर्षकको सुन्दर र सशक्त कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू गणेश खतिवडाले इन्द्रबज्रा छन्दको ‘छचल्किएँ म’ शीर्षकको, दीनेश पाण्डेले अनुष्टुप् छन्दको ‘प्रश्नपुञ्ज’ र उपजाती छन्दको ‘भेडो’ शीर्षकको, डा.सिर्जना शर्माले मुक्त लयको ‘अन्तिम कथा’ शीर्षकको, राधा कँडेलले उपेन्द्रबज्रा छन्दको ‘स्वाभिमानी अभाव’ शीर्षकको, शान्ति पौडेलले उपजाती छन्दको ‘छाउगोठ’ र दिक्पाल छन्दको ‘आमा’ शीर्षकको र प्रभाती किरणले उपजाती छन्दको ‘हिमाल’ शीर्षकको सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.देवी नेपालले वि.सं.२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी जन्तरी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट कृषि डिप्लोमा, बी.एड., कानुनमा एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरी हाल नेपाल सरकारको सेवामा रहनुभएको छ । खतिवडाका ‘घामभन्दा पहिले’ नियात्रा २०७८, ‘चारखोलाको आँगनीमा’ पद्यनियात्रा २०७९, ‘आकाश ओढेको डोल्पो’ नियात्रा २०८०, ‘प्रणाम सगरमाथा’ नियात्रा २०८१ जस्ता नियात्राका कृति प्रकाशित भएका छन् । ‘छन्द सारथी’, ‘हिमाल हेर्ने पाइलाहरू’, ‘नेपाली प्रतिनिधि नियात्रा’जस्ता कृतिको सम्पादनसमेत उहाँले गर्नुभएको छ । भवानी खतिवडा प्रकृतिको जीवन्त चित्रण गर्ने, सामाजिक बेथितिलाई शालीन ढङ्गले उजागर गर्ने र रूपान्तरणको ध्वन्यार्थ बडो सुन्दर तरिकाले सम्प्रेषण गर्ने, सुन्दर बिम्ब प्रयोगका माध्यमबाट सिर्जनालाई अत्यन्त कलात्मक पार्ने स्रष्टा हुनुहुन्छ । उहाँको व्यक्तित्व कर्मचारी, लेखक, सङ्गठकका रूपमा सक्रिय रहेको छ । आफू काम गर्ने र अरूलाई पनि गराउने, धाराप्रवाह अभिव्यक्ति दिनसक्ने, कविको कविता वाचनसँगै कवितामै तत्कालै त्यही छन्दमा समीक्षा लेख्नसक्ने, देखेको कुरा मात्र लेख्ने, कवितामा पनि साहसी, ‘चारखोलाको आँगनीमा’ शीर्षकको पद्य नियात्रा लेखिसक्नुभएकी, देखेको कुरालाई दृश्यात्मक रूपमा लेख्नसक्ने अनि युवालाई उत्प्रेरणा प्रदान गर्ने स्रष्टा हुनुहुन्छ, भन्ने धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रसेवा, सिर्जना, साहित्यिक सङ्घसंस्थामा सक्रियता, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय हाल तीनकुने, काठमाडौँमा बसोवास गरिरहनुभउकी स्रष्टा भवानी खतिवडालाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्बको प्रयोग गर्ने, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझो वैचारिकतामा, व्यङ्ग्यार्थमा र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, शास्त्रीय छन्दलाई पूर्ण नियन्त्रणमा राखेर सिर्जना गर्ने अत्यन्त प्रखर र सशक्त स्रष्टा भवानी खतिवडाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ, भन्नुहुँदै अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: