कविता

भानु बन्नुपर्छ

१८ कार्तिक २०८२
सविता बराल

म उड्छु स्वप्न व्योममा प्रदीप्त दिव्य भानु भै
बनूँ म भानुभक्तझैँ, बनूँ म भानुभक्तकै
कवित्व रक्त भानुको बगोस् नशानशाभरि
मभित्रको म भन्छ भानु बन्नुपर्छ है तिमी ॥१॥

जुरुक्क उठ्न भन्छ ऊ अगाडि बढ्न भन्छ ऊ
र भानुभक्त सम्झँदै उचाइ चढ्न भन्छ ऊ
दगुर्न सक्दछौ त दौड नत्र पुग्दछौ हिँडी
मभित्रको म भन्छ भानु बन्नुपर्छ है तिमी ॥२॥

नरोप रागद्वेषको कुबीज काव्य फाँटमा
मुछेर वर्णवर्णमा रहस्य, भाव आँतमा
र शब्द शब्द एकता उनेर लाउनू भनी
मभित्रको म भन्छ भानु बन्नुपर्छ है तिमी ॥३॥

असारभित्र सारको रहस्य फल्नुपर्दछ
निराशभित्र आशको चिराग जल्नुपर्दछ
परम्परा र धर्ममा नछर्नू व्यर्थ दुश्मनी
मभित्रको म भन्छ भानु बन्नुपर्छ है तिमी ॥४॥

तिखार ज्ञानका छुरा उमार काव्य आँकुरा
पवित्र भावका सिँढी चढेर भेट टाकुरा
छ दिव्यता बनेर भेट काव्यकी तपस्विनी
मभित्रको म भन्छ भानु बन्नुपर्छ है तिमी ॥५॥

छन्द : पञ्चचामर। 

सिदिङ्वा–४, ताप्लेजुङ,
हाल : कौशलटार, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्: