कल्पलताको तेस्रो वार्षिकोत्सव र काव्य वाचन कार्यक्रम 

१ मंसिर २०८२

काठमाडौं, २०८२ कात्तिक २९ गते शनिबार। साहित्यकार डा. मेघराज ढकालको प्रमुख आतिथ्य र कल्पलता द्वैमासिकका संरक्षक नर बहादुर बिसीको सभापतित्वमा कल्पलता साहित्यिक द्वैमासिकको तेस्रो वार्षिकोत्सव कार्यक्रम तथा साप्ताहिक काव्य वाचन कार्यक्रम १९४औं शृङ्‍खला जालपा पुस्तकालयको हलमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. ढकालले सबै पुस्ताका साहित्यकारहरूको उपस्थितिले कार्यक्रमलाई उत्कृष्ट बनाएको चर्चा गर्नुभयो । उहाँले ‘अहिले मुलुक निराशावादी छ तर साहित्यकारहरू आशावादी छन्’ भन्दै साहित्यिक कार्यक्रम, कल्पलता द्वैमासिक र समाज अविरल बग्दछ इन्द्रावती झैँ अविरल बगिरहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि कल्पलता द्वैमासिकका कानुनी सल्लाहकार अधिवक्ता डा. प्रेमराज सिलवालले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रम सभ्य, भव्य र अनुशासित रूपमा सम्पन्न भएको टिप्पणी गर्नुभयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि फ्लोरोसेन्ट माध्यामिक विद्यालयका अध्यक्ष मेघराज गौतमले समाजलाई सुधारको बाटोमा लैजान साहित्यको अग्रस्थान रहने र त्यो अपेक्षा कल्पलताले पूरा गर्ने विचार व्यक्त गर्नुभयो ।

कल्पलता द्वैमासिकका प्रकाशक रेणु अधिकारी ‘मौनता’ले कार्यक्रमको औचित्य र कल्पलता द्वैमासिक प्रकाशनबारे प्रकाश पार्नुभएको कार्यक्रममा सम्पादक सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कल्पलता द्वैमासिकका संरक्षक नर बहादुर बि.सी.ले सभाध्यक्षको आसनबाट कार्यक्रमको समापन गर्दै कल्पलताको विगतको स्मरण र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रधान सम्पादक घनबहादुर थापाले गर्नुभएको थियो । कल्पलताले हालसम्म १८ अङ्‍क प्रकाशित गरिसकेको छ ।

कार्यक्रममा साहित्यकारहरू बेनीबहादुर थापा, टंकबहादुर खत्री, घनबहादुर थापा, जे.पी.नेपाल, रेणु अधिकारी ‘मौनता’, उमेश पाण्डे, गोबिन्द के.सी., गोविन्दराज पौडेल, रामप्रसाद पौडेल, राजेशमान केसी, सुशील आचार्य, सुदर्शन अधिकारी, अर्जुनबाबु तिवारी, दीपक बानियाँ, योञ्जन डि.चन्द्र, माया बस्नेत थापा, महेश्वर खनाल, लेखन अविरल, रमिता थापा, श्रेया पाण्डे, सिमरन गौतम, रशना श्रेष्ठ, सोफिया रसाइली लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: