२०८२ मंसिर २३, काठमाडौं । वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई विभिन्न एकसय एक साहित्यिक संस्थाहरुले भक्तपुर लोकन्थली थिमी चन्द निवासमा सामूहिक अभिनन्दन गरिएको छ ।
अभिनन्दन समारोह समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ र उहाँकी धर्मपत्नीलाई दोसल्ला, टोपी, दुवो र फूलको माला लगाएर फूल वर्षासहित कद बराबरको अभिनन्दनपत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा चन्दलाई सगुन पनि दिइएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरूले लोक नृत्य छलिया, बाजागाजासहित सामूहिक अभिनन्दनमा सहभागी हुनु भएको थियो भने चर्चित सङ्गीतकार एवं गायक नरहरि प्रेमीले विभिन्न गीतहरु गाउनु भएको थियो ।
कार्यक्रमका सभापति राधेश्याम लेकालीले सो कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै भन्नु भयो – “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई राजनीतिज्ञ भन्दा पनि वरिष्ठ साहित्य सर्जकको हैसियतमा अभिनन्दन गरिएको र चन्द जस्तो विशिष्ट सर्जकको सम्मान हुनु गर्वको कुरा हो । साथै सर्जकको सम्मान गर्ने परम्परालाई निरन्तरता पनि दिनेछौं । साहित्यिक पत्रकार संघले २०३८ सालमा नै बी. पी. कोइरालालाई अभिनन्दन गरिसकेको छ । यस अगाडि पनि अन्य विभिन्न सर्जकलाई सामूहिक सम्मान गरिसकिएको छ। एकसय एक संस्थाद्वारा आयोजित यो अभिनन्दन कार्यक्रमलाई भने तारा किशन फाउन्डेसन, अमेरिकाले प्रायोजन गरेको छ ।”

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नु भएको थियो ।
यसैगरी जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने परिवारका तर्फबाट चन्दका छोरा पूर्व मन्त्री जयन्त चन्दले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण साहित्यकार मोमिलाले गर्नुभएको थियो ।
नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द विभिन्न समयमा चार पटक नेपालका प्रधानमन्त्री बन्नुभएको छ । उहाँ कुशल शब्द-शिल्पी हुनुहुन्छ । मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिनुहुन्छ ।
पञ्चायतकालमा दुई पटक तथा त्यसपछि दुई पटक गरी चार पटक देशका प्रधानमन्त्री भइसक्नुभएका चन्दसँग राजनीतिको लामो अनुभव त छ नै साहित्यमा पनि उहाँको निकै लामो र महत्वपूर्ण योगदान छ । उहाँको ‘बाह्रौँ खेलाडी’ कृति अत्यन्त लोकप्रिय भएका कारण कतिपयले उहाँलाई सम्बोधन गर्दा नै ‘बाह्रौँ खेलाडी’ पनि भन्ने गरेको पाइन्छ । बाह्रौँ खेलाडी किनारीकृत खेलाडी जस्तो मानिए पनि निर्णायक खेलाडी पनि बन्न सक्छ खेलमा ।
उहाँको व्यक्तित्व राजनीतिसँगै साहित्यिमा अझ चम्किलो छ । कुशल साहित्यकार उहाँका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् भने केही पुस्तक प्रकाशनको तयारीमा छन् । यही उहाँको साहित्यिक र सामाजिक व्यक्तित्वलाई सोमबार एकसय एक विभिन्न संस्थाले अभिनन्दन गरेका हुन् । समारोहमा उहाँका पारिवारिक सदस्यसँगै विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
अभिनन्दित व्यक्तित्व वरिष्ठ साहित्यकार चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ । उहाँलाई एकसय एक संस्थाका प्रतिनिधिले अलग-अलग खादा, माला र दोसोल्लाले अभिनन्दन गरेका थिए ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले अभिनन्दनपत्र वाचन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: