कविता

साहित्यकार पार्वती पुडासैनीको कवितासँग्रह – छेपारो समय प्रकाशित

२२ पुष २०८२

काठमाडौ, पुस २२, २०८२ । साहित्यकार पार्वती पुडासैनीको नवीन कवितासंग्रह- “छेपारो समय” हालै प्रकाशित भएको छ । पुडासैनीले विगत ३० वर्षदेखि नेपाली साहित्यमा कविता, कथा, निबन्ध र स्वास्थ्य विषयका लेखहरू लेख्दै आउँनु भएको छ ।

पुडासैनीको नवीन कवितासँग्रह “छेपारो समय” मा ७५ कविता सँग्रहीत छन् । ती कविताहरूले मानवीय मूल्य मान्यताहरूमा देखिएको विचलन, राजनीतिक गतिहीनता, मानवीय संवेदनाको ह्रास, मानवीय स्वार्थको कारण सत्यताको पहिचान हुन नसकेको, समाजमा स्वार्थीहरूको बोलवाला बढ्दै गएको, मान्छे मान्छेमा स्वार्थ, शक्तिलोलुपता बढ्दै गएको, मान्छेमा सत्य र समृद्धितिर अघि बढ्नुभन्दा शक्ति र धनको मोहमा क्षण क्षणमा रूप परिवर्तन गर्दै गएको, मान्छे मान्छेको सम्बन्ध प्रेममाभन्दा पैसामा नापिने गरेको भएता पनि सही विचार र दर्शनको माध्यमबाट संसार र समाजलाई उन्नतिशील बनाउँन सकिने सन्देश दिएका छन् ।

छेपारो समय कृतिको सम्बन्धमा डा. हेम भण्डारीले भन्नुभएको छ, “कवि पार्वती पुडासैनीका कविता कोमल अनुभूतिका सरस अभिव्यक्तिमा अघि बढेका छन् । उनी मनका कविता लिएर प्रस्तुत भएकी छिन् ।शब्दहरूको सजावट, लयको सँयोजन र कविताको अस्तित्व निर्माण लगायत पक्षमा उनको सचेतना मजबुत भएको छ ।उनका कविता सरल संरचनामा प्रस्तुत भई गम्भीर अर्थ ध्वनित गर्न सफल छन् ।” त्यस्तै समालोचक डा. दामोदर पुडासैनीले, “ पार्वतीका कविता बलजफ्ती रचिएका होइनन् । मान्छेले मान्छेलाई गरेको होचीअर्घेली, मानव र प्रकृतिबीच चलिरहेको द्वन्द्व, राजनीतिले निम्त्याएको अँध्यारो उज्यालो, मानवीय प्रेम र सद्भाव जस्ता विषयहरू उनका कवितामा समेटिएका छन् । छोटो सँरचनामा ब्यापक अर्थ दिनसक्ने क्षमता उनका कवितामा छन् “ भन्नुभयो ।

कवि पार्वती पुडासैनीको यो कविता सँग्रह भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशनमा ल्याएको हो । प्रकाशन सँस्थाका प्रबन्ध निर्देशक केशव पराजुलीले नेपाली काव्य भण्डारमा कवि पार्वती पुडासैनीको उपस्थिति प्रभावशाली भएको कुरा बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्: