कविता

अतिथि सम्पादकद्वारा सम्पादित कविताहरू

२४ पुष २०८२
ज्योतिकुन्ज एकेडेमी

‘विद्यार्थीसँग साहित्यकार : विमर्श र साक्षात्कार’/ज्योतिकञ्ज एकेडेमी

यसपटकको अतिथि सम्पादकमा ज्योतिकुञ्ज एकेडेमी, लिखु–६, छहरे, नुवाकोटका भाइबहिनीहरू दीपिका पाठक (कक्षा : ७), दीपशिखा भण्डारी (कक्षा : ८) र प्रवेश पाठक (कक्षा : ९) रहेका छन् । यस अङ्कमा ज्योतिकुञ्जकै भाइबहिनीहरूका रचनाहरू खोजी, सङ्कलन गरी उनीहरूले नै छनोट तथा सम्पादनसमेत गरेका हुन् ।

मेरो देशप्रिसा श्रेष्ठ
कक्षा : ८

मेरो देशमा छ हिमालको छायाँ
हिमाल, पहाड र तराई सधैं मेरो माया ।
नदीहरूले गीत गुनगुनाउँछन्
वनहरू हामीलाई मायामा झुलाउँछन् ।

सुनको घाँस सुनौलो खेल
माटोको सुगन्ध मनसँग भयो भेट ।
जनताको हाँसो, माया र मिहिनेत
मेरो देशलाई बनाउँछु अमूल्य सिर्जित ।

जनताको माया, शान्ति र प्रेमको
देशको नाम गुञ्जिन्छ सधैं विश्वासको ।
मेरो देश नेपाल सधैं अमर रहोस्
सपना उज्यालो भविष्यको गाडियोस् ।

मेरो देश हिमालको देश
शीतल हावा र पानीको देश ।
नदी, वन, तराई, पहाडसङ्ग
देशको सुन्दरता देख्दा सबै दङ्ग ।

मेरो देशको माटो सुगन्धित
गाउँ बेसी सधैं प्रफुल्लित ।
माया गर्छु म यो देशलाई
सधैं हृदयमा राख्ने छु सजाई ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

भ्रष्टाचार
सञ्चिता पाठक
कक्षा : ८

भ्रष्टाचारको सङ्ख्या बढ्दै गएको छ देशमा
दानवरूपी भ्रष्टाचारी मानवको भेषमा ।

चोरी गर्ने चोरलाई छिटै जेलमा राखून्‌
भ्रष्टाचार गर्नेहरू देशबाट भागून् ।

निर्दोष जनतालाई मारी नेताहरू बेपत्ता भए
शहीदको मन रोला यिनलाई कारबाही नगरे ।

अपराध गर्नेलाई सजाय दिए
हुने थियो देशमा जनताको विजय ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

बाटो देखाइदेऊ
दीपशिखा भण्डारी
कक्षा : ८

यो देश डुब्न लाग्यो नेपाल फर्काइदेऊ
सिप अनि सृजनाको पसिना बगाइदेऊ
जलिरहेको मेरो देश पुनः निर्माण गराइदेऊ
अन्धकारमा फसेकालाई उज्ज्वल मार्ग देखाइदेऊ ।

हामी जाने गन्तव्यको बाटो खुलाइदेऊ
रोइरहेकी नेपाल आमाको हाँसो फर्काइदेऊ
देशको अन्यौलतालाई पूर्णविराम लगाइदेऊ
शहीदलाई सम्मान, घाइतेलाई मल्हम लगाइदेऊ ।

देशमा अब यस्तो कानुन बनाइदेऊ
विदेशीने संस्कार बन्द गराइदेऊ
उद्योगधन्दा, कलकारखाना स्थापना गराइदेऊ
बेरोजगारलाई रोजगारीको अवसर दिलाइदेऊ ।

जात धर्म पहिचानको सद्भाव फैलाइदेऊ
साझा भाषा भेष रङ्गको सुवास फैलाइदेऊ
ज्ञान, विज्ञान र दर्शनको रेखा कोरिदेऊ
उडी उडी चन्द्र पुग्ने बाटो पहिलाइदेऊ ।

यो देशमा जन्म्यौँ हामी यै देशमा मरौँ
आफ्नै देशको सेवा गर्ने एउटा प्रण गरौँ
घर, गाउँ, नगर, देश सबैतिर जागौँ
समुन्नत नेपाल बनाउन सबै मिली लागौँ ।

यो देश डुब्न लाग्यो नेपाल फर्काइदेऊ
सिप अनि सृजनाको पसिना बगाइदेऊ
जलिरहेको मेरो देश पुनः निर्माण गराइदेऊ
अन्धकारमा फसेकालाई उज्ज्वल मार्ग देखाइदेऊ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

विद्यालय
रिजय श्रेष्ठ
कक्षा : ८

पढ्ने लेख्ने काम हाम्रो मिहिनेत गर्नुपर्छ
भविष्य उज्ज्वल बनाउन राम्ररी पढ्नुपर्छ ।
विद्यालय जाऊँ मिहिनेत गरी भविष्य बनाऊँ
ज्ञान सिप सिकी आफ्नो कला फिजाऊँ ।

आज पढे राम्रोसँग भोलि असल भइन्छ
असल मान्छे देशको लागि ठूलो बन्न सक्छ ।
पढ्ने, लेख्ने ठूलो बन्ने बानी बस्यो भने
समाजलाई आवश्यक हाम्रो छ नि पर्ने !
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

बाबा
सन्दीपा डंगोल
कक्षा : १०

छोराछोरी केही भए अत्तालिने तिम्रो मन
हाम्रो इच्छा पूरा गर्छौ नभए नि धन
थाहा छैन यो तिम्रो रहर हो या कमजोरी
राम्रो लुगा आफ्नो लागि किन्दैनौ एक जोडी ।

केही नभए पनि खट्छौ रात दिन
थाहा छ बाबा सब गर्छौ किन ?
तिम्रो मिहिनेत खेर जान दिन्न कैल्यै
छोरी भएर देखाउने छु बाबा मैले ॥
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

समाज
मनिषा श्रेष्ठ
कक्षा : ८

फूल भै बस्न मन थ्यो काँडा भए छु,
खै म यो स्वार्थी समाजमा
कसरी बाध्य भए छु ।

समाज एक काँडाझैँ
म त्यो काँडाको बिचमा बसेकी छोरी हुँ,
म यो काँडाको समाजमा
फूलझैँ फूलेर देखाउने छु ।

यो समाजमा म एउटा खलौना झैँ भएकी छु,
यो समाजलाई चकित बनाउन
म प्रयास जारी राख्दछु ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

स्कुल रमाइलो
कुशल बस्याल
कक्षा : ७
स्कुल रमाइलो स्कुल रमाइलो
घरभन्दा मलाई त स्कुल रमाइलो ।

पढ्न पनि पाइने खेल्न पनि पाइने
ज्ञानगुनका कुरा पनि सिक्न पाइने ।

स्कुल रमाइलो स्कुल रमाइलो
घरभन्दा मलाई त स्कुल रमाइलो ।

कहिले गाउन, कहिले नाच्न, रमाउन पाइने
बाआमाको माया जस्तै माया पाइने ।

स्कुल रमाइलो रकुल रमाइलो
घरभन्दा मलाई त स्कुल रमाइलो ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

भ्रष्टाचारी नेता
निमा डोल्मा लामा
कन्या : ६
पुर्‍याइदिनोस् खबर यो साथीभाइसम्म,
हाम्रै त हो नेपाल यो मेची–कालीसम्म ।
आफ्नो सान हुने बेला उठाउने हो शिर,
आफ्नो देश जल्दा कसलाई हुन्न र पिर !

भ्रष्टाचारी नेताहरू देश रुवाउँ छन् यता,
धन, सम्पत्ति देशको जल्दा हेरिबसे युवा ।
आफ्नो देश बचाऊँभन्दा हाने किन गोली ?
के हुने हुन् ती युवाका भविष्य लौ भोलि !

सबै जना हुनुपर्छ देश बचाउँन रुनी,
हामी रोए देश बच्छ, धेरै फाइदा हुनी ।
कसो गरी नाम लिनु गोली हान्ने मानिसको,
अन्त्य गर्‍यौ हैन जो त्यो आमाको खुसी थ्यो !

ठूला ठूला दिदी दाइ आन्दोलनमा जुटे,
कठै साना भाइबैनीलाई नराम्ररी चुटे ।
मति छैन ऐले पनि कैले हो सुध्रिने ?
बाध्य पारे अपराधीले आमाबालाई उत्रिने ।

बस् ! म अन्तिममा यही भन्न चाहन्छु,
म आफैं देशको लागि केही गर्न लम्कन्छु ।
मर्न परे देशको लागि यहीँ मर्न पाऊँ,
आफ्नो देश बचाउन पाखुरी यो उठाउँ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

शब्द
दिपेश पाठक
कक्षा : ९
मूर्ख हो त्यो मानिस
केही नबुझी बोल्ने छिटो छिटो ।
अशुद्ध हजार शब्दभन्दा
शुद्ध एउटा शब्द नै मिठो ।

चिच्याउनुभन्दा
नम्र भएर बोल तिमी बसेर
राम्रो शब्द आर्जन गर्न
पुस्तक पढ टुप्पी कसेर ।

नराम्रो सङ्गत र शब्द छोड़
चढ़ ज्ञानको डुङ्गा ।
तीरजस्ता शब्द प्रहार गर्नेलाई
हाँसेर देऊ फूलका थुँगा ।

बेलैमा शब्द सुधार
समय बस्दैन नि पर्खेर
कसैले शब्दले मन दुःखाए
हेर्नु हुँदैन फर्केर ।

फोहोर बोल्नुभन्दा भए हुन्छ लाटो
थाहा पाएर बोल्ने त्यो मान्छे हो बाठो ।
मीठो शब्दले गर्दा कोही रोए
आँसु हैन त्यो हो मोती
असल मान्छेको सधैं हुन्छ
आँखामा ज्योति, मुखमा सरस्वती ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

म किसान
सुप्रिम पाठक
कक्षा : ७
किसानको छोरो म गर्छु किसानी
हँसिया र डोको, नाम्लो मेरो निसानी ।
चाहिँदैन धेरै धन, ठूलो आम्दानी
खान पाए दुई छाक मीठो दाना पानी ।

परिवारको जिम्मेवारी मेरो यिनै काँधमा
देशको उज्ज्वल भविष्य मेरो यिनै हातमा ।
डाँडापाखा हरियाली, जङ्गल र वन
यिनै हुन्, मेरो लागि सुख, शक्ति, धन ।

बोट बिरुवा रोप्छु म वृक्षारोपण गर्छु
यही देशमा जन्मेको थेँ यही देशमा मर्छु ।
मेरो लागि मेरो गाउँ सबैभन्दा राम्रो
देशको माटो मलिलो छ, हुन दिन्न चाम्रो ।

न त प्राइभेट जागिर खान्छु न त सरकारी
पुर्खाको त्यो मिहिनेत मेरो जिम्मेवारी ।
अब आउने पुस्तालाई काखमा हुर्काउनु छ
यो देशको जमिनलाई कृषि योग्य बनाउनु छ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

छोरी हुँ म
कुसुम बस्याल
कक्षा : १०
बाआमाको सम्पती दाजुभाइको भागमा
बाआमाको मान र इज्जत मेरो भागमा ।

कसैसँग हाँसे, बोले चरित्रको तौल हुन्छ
चुप लागेर बसेँभने कमजोरको धब्बा हुन्छ ।

लगाउने लुगा, बोल्ने शब्द अड्कल गर्नुपर्ने
घर ढिलो पुग्दा प्रश्न तरङ्ग भै आउने ।

घर बाहिर जादाँ पनि विवरण दिनुपर्ने
नियन्त्रणमा राख्न खोज्ने ! जोगाउन घट्नाबाट ।

जे भए नि पहिलाभन्दा समाज सुधार भएको छ
छोरीलाई नि छोरा समान ऐले मान्न थालेको छ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

 

गुरु
स्मृति भण्डारी
कक्षा : ७

मलाई शिक्षा दिने मेरा भगवान् हुन् गुरु
उनको बयान गर्न कहाँबाट गरौँ सुरु ?

शिष्यको अस्तित्व कहाँ हुन्थ्यो होला गुरु नभए
कस्तो हुन्छ होला यो युग तिमी नरहे ?

साँच्चै अँध्यारो हुने छ भने मेरो भविष्य तिमीबिना
माया गरेर पठाउँछौ तिमीले कहिल्यै गर्दैनौ घृणा ।

हाम्रा लागि ज्ञान बाँडी कहिल्यै थाक्दैनौ
जति ज्ञान बाँडे पनि बदलामा केही माग्दैनौ ।

पढाइ, लेखाइ शिक्षा दिएर हाम्रो ज्ञान बढाउँछौँ
भविष्यको विधाता बनी सफलताको शिखर चढाउँछौँ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट


सबै उठ्नुपर्छ
आर्यन श्रेष्ठ
कक्षा : ७

अरूको देशमा हुन्छ भरिपूर्ण धन,
हाम्रो देशमा चाहिँ सधैं आन्दोलन ।

आन्दोलनमा देखिएथ्यो जेन्‌जीको रफ्तार,
हटाउन खोज्ने जेन्‌जी देशबाट भ्रष्टाचार ।

पुरानालेझैँ अब नगरेर नक्कल,
जेन्‌जीको हुनुपर्छ लौ आन्दोलन सफल ।

आन्दोलन सफल पार्न सबै जुट्नुपर्छ,
सफलताको शिखर चुम्न सबै उठ्नुपर्छ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट

प्रतिक्रिया दिनुहोस्: