‘आहार, विहार र सदाचार : विमर्श र विचार’
नुवाकोट (थानसिङ) पौष २५ गते । संसाक मासिकको ज्योतिकुञ्ज विशेष (२०८२ पौष) अङ्क एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । लोकार्पणको अवसरमा जीवनमा ‘आहार, विहार र सदाचार : विमर्श र विचार’ का कुरा गरिएका थिए ।

ज्योतिकुञ्ज एकेडेमी लिखु–६, छहरे, थानसिङमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा.दामोर पुडासैनी किशोर, विशिष्ट अतिथि योग प्रशिक्षक गुरु केदारनाथ पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदीश पाठक, विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोल, संसाकका सम्पादक/प्रकाशक उमेश पाण्डे, कवि पार्वती पुडासैनी, बालकलाकार प्रद्युम्न पाठक, छात्रछात्राहरू दीपेश पाठक, सुप्रिम पाठक, रेस्मा सिलवाल, कुसुम बस्याल, सलिना श्रेष्ठ, साधना डंगोल, स्मृति भण्डारी, डिप्लभ नगर्जी, रियाना गौतम, सञ्चिता पाठक, कीर्तन पाठक, आयुषा डंगोल, निमा डोल्मा लामा, सुजता भण्डारी, दीपिका पाठक, दीपशिखा भण्डारी, प्रवेश पाठकलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.पुडासैनीले साहित्यले विद्यार्थीहरूको पढाइको साथै चौतर्फी क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुराको चर्चा गर्नुहुँदै विदेशमा साहित्य र साहित्यकारलाई हेर्ने दृष्टिकोण र उनीहरूमा गर्ने सम्मान निकै उच्च रहेको बताउनुभयो । डा.पुडासैनीले शिक्षक शिक्षिकाहरू खासगरी विद्यालयले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि र लगावलाई बुझेर उनीहरूमा त्यसप्रति लाग्ने वातावरण निर्माणमा सदैव सहयोगीको भूमिका निभाउनु आवश्यक छ, भन्नुभयो ।

कार्यक्रममा अतिथि वक्ता योग गुरु केदारनाथ पाठकले ‘आहार, विहार र सदाचार : विमर्श र विचार’ मा आफ्नो धारणा राख्दै आज हाम्रो जीवन सदैव चिन्ता, तनाव र पीडामा रहेको बताउनुहुँदै जीवनलाई चिन्ता, तनाव र सन्त्रासबाट मुक्त राख्न नित्य योग, ध्यान र प्राणायामको आवश्यक छ, भन्नुभयो । ‘खासगरी योग, ध्यान र प्राणायामले मानसिक स्वास्थ्यलाई निरोगी र तन्दुरुस्ती राख्छ भने आहार, विहार र सदाचारले शारीरिक स्वास्थ्यलाई बलियो र निरोगी बनाउँछ’, पाठकले भन्नुभयो, ‘अमूल्य मावन जीवनलाई सदा खुशी र आनन्दित राख्न खानपान र व्यायाममा ध्यान जानु अति आवश्यक छ ।’ आजको अति प्रतिस्पर्धी र जटिल समयमा मनलाई स्वच्छ र शरीरलाई स्वस्थ राख्न के खाने ? कहाँ जाने ? र कस्तो आचरण–व्यवहार गर्ने ? भन्ने कुरा अति नै आवश्यक छ, भन्नेमा सबैले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोलले विद्यालयले साहित्य र साहित्यकारलाई सदैव माया र सम्मान गर्दै आएको र आउने दिनहरूमा पनि त्यो कुरा निरन्तर रहने बताउनुहुँदै विद्यार्थीहरूमा रहेको सिर्जनात्मक प्रतिभाको प्रस्फुटन र संरक्षणमा साहित्यिक पत्रपत्रिकाको महत्वपूर्ण भूमिका रहने भएकोले विद्यालयले सधैं साहित्यिक पत्रत्रिकाहरूसँग सहकार्य गर्दै अघि बढ्ने कुरा प्रष्ट पार्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदीश पाठकले साहित्यकारहरू देशका गहना हुन्, समाजका ऐना हुन्, भन्नुहुँदै देशका विकृति, विसङ्गतिमा खवरदारी गर्न र समाजलाई सही दिशा दिन साहित्यकार र उनीहरूको सिर्जनाको ठूलो भूमिका रहने कुरा बताउनुभयो । अध्यक्ष पाठकले समाजका पथ प्रदर्शक र ज्ञानका ज्योति साहित्यकारहरूलाई विद्यालयले सधैं सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार उमेश पाण्डेले पत्रपत्रिका र साक्षात्कारका माध्यमबाट ससाना विद्यार्थी भाइबहिनीहरूभित्र रहेका साहित्य र कलाका विचार, भावना र क्षमतालाई प्रस्फुटन गरी बाहिर ल्याउन सकिन्छ भन्ने सोचाइले संसाकले दुरदराजका गाउँगाउँमा गएर विद्यार्थीहरूसँग साक्षात्कार गर्ने कार्यक्रमको थालनी गरेको कुरा बताउनुभयो । साहित्यकार पाण्डेले संस्कृति, साहित्य र कलाको जगेर्ना र संवद्र्धको लागि ज्योतिकुञ्जमा उपयुक्त वातावरण रहेको र विद्यार्थीहरूमा प्रशस्त उत्साह पाइएको बताउनुभयो ।

सर्जक पार्वती पुडासैनीले कार्यक्रममा शुभकामनासहित आफ्नो लेखन र कविताका बारे चर्चा गर्दै विद्यालयलाई आफ्नो नवीनतम् कविता कृति ‘छेपारो समय’ को केहीप्रति प्रदान गर्नुभएको थियो ।

ज्योतिकुञ्ज एकेडेमीका शिक्षक, विद्यार्थी र कर्मचारीहरूको सहभागिता रहेको लोकार्पण तथा ‘आहार, विहार र सदाचार : विमर्श र विचार’ कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक शिवराम पुडासैनीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: