काठमाडौ, २८ पौष, २०८२। साहित्यकार सीता पाण्डे (संयुक्त राज्य अमेरिका) र हिक्मत थापा ( नाइजेरिया) सँग चिया सागर रेष्टुरेन्ट नयाँबानेश्वरमा सिर्जना वाचन कार्यक्रम सपन्न भयो। ज्योति साहित्य प्रतिष्ठान काठमाडौँ र विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारले सीता पाण्डे र हिक्मत थापा दुवैलाई राम्ररी चिनेको र उहाँहरू राम्रा सर्जक रहनुभएको बताउनुभयो। त्यस अवसरमा कवि साकारले एउटा कविता पनि सुनाउनुभयो।
सर्जक हिक्मत थापाले नाइजेरियाको अवस्था र त्यहाँका नेपालीहरूको जीवन कथा सुनाउनु हुँदै आफू २० वर्षदेखि त्यहाँ सम्मानित जीवन बिताइरहेको कुरा सुनाउंदै उहाँले आफ्नो कविता पनि वाचन गर्नुभयो।
सर्जक सीता पाण्डेले संयुक्तराज्य अमेरिकाको मेरिल्याण्डको बसाइ, नेपाली साहित्य र नेपालको साहित्यिक वातावरणप्रति खुशी व्यक्त गर्नुहुँदै एउटा कविता वाचन गरी माहौलमा रौनकता थप्नुभयो।
विशिष्ट अतिथि प्रा डा भरतकुमार भट्टराईले साहित्यिक वातावरको संक्षिप्त टिप्पणी गर्नुहुँदै स्रष्टा पाण्डे र थापाप्रति हार्दिक शुभकामना व्यक्त गुर्नुभयो र एउटा कविता सुनाउनुभयो।
विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाका उपाध्यक्ष रवीन्द्र आशिष् शैली, श्रीराम पाण्डे, योगाज राजन कविराज र राजेश मान के सी लगायतले आ – आफ्ना कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा सभाध्यक्ष मणिराज सिंहले स्रष्टाद्वय सीता पाण्डे र हिक्मत थापालाई शुभकामना व्यक्त गर्नुहुँदै विश्व नेपाली साहित्य महासङ्घ विश्वका ३० बढी देशहरूमा फैलिएको र नेपालभित्र ३३ जिल्लामा शाखा विस्तार गरिसकेको बताउनुभयो। उहाँले उपस्थित सबैमा धन्यवाद पनि ज्ञापन गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्: