काठमाडौ, ५ माघ २०८२ । संसाक मासिक पत्रिकाको आयोजनामा काठमाडौको उत्तरी भेगमा पिपलपाते मोबाइल विशेष काव्यगोष्ठी आयोजना गरियो ।साहित्यकारहरूले घर, चौतारो, दोबाटो र जंगलमा पुगेर अन्तरकृयासहित रचना सुनाएका थिए ।

बुढानीलकण्ठ, नीलोपुलबाट शुरू गरिएको सो काव्यगोष्ठी मुहानपोखरी गहिरीगाउँ हुँदै पिपलबोटमा पुगेर टुङ्गिएको थियो । सहभागी साहित्यकारहरूले स्थानीयहरूसँग जीवन र जगत् बारेमा अन्तरकृया गर्दै आआफ्ना रचनाहरू सुनाएका थिए ।

सो अवसरमा साहित्यकारहरू डा. दामोदर पुडासैनी किशोर, उमेश पाण्डे, तारा के सी, पार्वती पुडासैनी, गङ्गा खड्का, श्याम बहादुर खड्का, सन्ध्या भण्डारी, श्रीकृष्ण भण्डारी आदिले मानव जीवनका आरोह-अवरोहको चर्चा गर्दै आआफ्ना रचना सुनाएका थिए ।

सो अवसरमा कवि पार्वती पुडासैनीको कवितासंग्रह ‘छेपारो समय’ र कथाकार गङ्गा खड्काको लघुकथासंग्रह ‘झंकार’ स्थानीय बुध्दिजीवी र सहभागी साहित्यकारहरूको उपस्थितिमा सँयुक्त रूपमा विमोचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. दामोदर पुडासैनी किशोरले गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर पात्र र परिस्थितिको स्पर्श गरेर लेखिएको साहित्य ओजनदार हुने भएकोले संसाकको घर घरमा साहित्य अभियानले मूर्तरूप लिने कुरा बताउंनुभयो । मानवीय मूल्य, मान्यता र विचारमा दिगोपन नभै पिपलको पातझैँ ढुलमुल भएको परिस्थितिलाई सचेतपूर्वक सुधारगर्न यस किसिमको काव्यगोष्ठीले मध्दत पुर्याउँने कुरा पनि उहाँले बताउँनुभयो ।

साहित्यकार तारा के सीले धन्यवाद ज्ञापन गर्दै यस किसिमको कार्यक्रम आयोजनाले साहित्यको स्तर अझ मजवुत बन्ने कुरा बताउंनुभयो ।

कार्यक्रमको सभाध्यक्ष संसाक मासिकका प्रधान सम्पादक उमेश पाण्डे हुनुहुन्थ्यो । उहाँले ‘मन मनमा साहित्य, घर घरमा पुस्तक र पत्रिका’ भन्ने संसाक पत्रिकाको मूलध्येय बमोजिम यस किसिमको कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउँनुभयो ।

साहित्यकारहरूले सो अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र विपसश्यना ध्यान केन्द्रको पनि अवलोकन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: