इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र लोकार्पण

१२ माघ २०८२

काठमाडौं, पौष ५ गते । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गर्नुभएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा.त्रिपाठीले भन्नुभयो, ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठूलो न्याय गर्नुभएको छ ।’

सो समारोहमा लेखक प्रा.डा.दयाराम श्रेष्ठले इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको जानकारी गराउनुभयो । नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे समालोचक प्रा.केशव सुवेदीले ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता अनुसन्धाताका लागि यसले मार्ग निर्देशन गर्ने छ’ भन्ने धारणा राख्नुभयो ।

समारोहमा कथाकार इन्दिरा प्रसाईले ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भन्नुभयो । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले कृतिबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा कवि गोपाल पराजुली, समीक्षक अरुण नदी खत्री, विमल भौकाजी, निर्मलरमण पराजुली, हिरण्यकुमारी पाठक, रश्मी रिमाल, ललिता दोषी, यमुना प्रधानाङ्ग, तुलसीहरि कोइराला, नारायणकुमार आचार्य, प्रद्युम्न जोशी, युवराज नयाँघरे, ठाकुर शर्मा भण्डारी, इल्या भट्टराई, मञ्जुश्री प्रधान के.सी., इन्दिरा दीक्षित आदिकोे उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: